छ महिनामा सर्पदंशबाट ११० जनाको मृत्यु

काठमाडौं। चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि कार्तिक ३ गतेसम्मको अवधिमा देशभर भएका विपद्का घटनामा ठूलो मानवीय क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा ७ हजार ४ सय ३९ वटा विपद्का घटनामा ३ सय ८६ जनाको मृत्यु भएको छ। भोटेकोसी बाढीको घटना भने यो तथ्यांकमा समावेश छैन।

प्राकृतिक तथा गैरप्राकृतिक विपद्मध्ये सबैभन्दा धेरै मानवीय क्षति सर्पदंशबाट भएको छ। उक्त अवधिमा १ हजार ६ सय २२ वटा सर्पदंशका घटना दर्ता भएका छन्, जसमा १ सय १० जनाको मृत्यु भएको छ भने १ हजार ५ सय २५ जना घाइते भएका छन्। विपद्का कुल घाइते २ हजार ४ सय ३३ जनामध्ये ६२ प्रतिशतभन्दा बढी सर्पदंशका कारण घाइते भएका हुन्।

बाढी र पहिरोका ४ सय ६० घटनामा ४१ जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता छन्। चट्याङका ३ सय ३३ घटनामा ३६ जनाको ज्यान गएको छ भने २ सय ४ जना घाइते भएका छन्। यसबाहेक, १ हजार ५ सय ७ स्थानमा भएका आगलागीमा २९ जनाको मृत्यु भएको छ। हिमाली भेगमा लेक लाग्ने ७२ घटनामा २६ जनाले ज्यान गुमाएका छन्।

मानव-वन्यजन्तु द्वन्द्वका ३ सय ९८ घटनामा २१ जनाको मृत्यु र २ सय ४१ जना घाइते भएका छन्। साथै, हिउँ पहिरोमा १९ जना, हावाहुरीमा १६ जना र भारी वर्षाका कारण ७ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। प्राधिकरणले हिउँद नजिकिँदै गर्दा आगलागी र चिसोबाट बच्न सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

↑