भेरी अस्पतालमा न्यूरो तथा प्लास्टिक सर्जरी सेवा पुनः सञ्चालन

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जमा दुई वर्षदेखि बन्द रहेको न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा पुनः सञ्चालनमा आएको छ। अस्पतालले विशेषज्ञ स्वास्थ्य सेवालाई विस्तार गर्दै दुवै सेवा पुनः सुरु गरेको हो।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले सेवा पुनः सञ्चालनमा आएसँगै यस क्षेत्रका बिरामीले न्यूरो तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ उपचार आफ्नै क्षेत्रमा सहज रूपमा प्राप्त गर्न सक्ने बताए।

अस्पतालको ओपीडी नम्बर ६ बाट प्रत्येक साताको मङ्गलबार र बिहीबार न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ। सेवाले बिरामीलाई समयमै विशेषज्ञ परामर्श, रोग पहिचान तथा उपचारमा सहज पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ।

सेवाका लागि न्यूरो सर्जन डा आलोकचन्द्र ठाकुर तथा प्लास्टिक सर्जन डा नोबेल पोखरेल अस्पतालमा उपलब्ध हुनेछन्।

भेरी अस्पतालमा यसअघि नै सिटी स्क्यान तथा एमआरआई सेवा सञ्चालनमा रहेकाले जटिल रोगको पहिचान तथा उपचारमा सहयोग पुग्दै आएको छ। न्यूरो तथा प्लास्टिक सर्जरी सेवा थपिएसँगै आधुनिक निदानात्मक सुविधा र विशेषज्ञ उपचारलाई एकीकृत गरी बिरामीलाई थप सहज, सुलभ तथा प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने अस्पतालले विश्वास व्यक्त गरेको छ।

नयाँ सेवाको अस्पताल विकास समिति सदस्य डा डक्टप्रसाद धिताल, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दर्नाल, सर्जरी विभाग प्रमुख डा सुरेशकुमार नाग, अस्पताल नर्सिङ प्रमुख पद्मादेवी देवकोटा, मेडिसिन विभाग प्रमुख डा राजन पाण्डे तथा रेडियोलोजी विभाग प्रमुख डा विश्वनाथ शर्मालगायतले संयुक्त रूपमा शुभारम्भ गरे।

प्रतिकृया दिनुहोस
↑