माङसेबुङमा निःशुल्क आँखा परीक्षण शिविर सुरु, डा. सन्दुक रुइतले मोतिबिन्दुको शल्यक्रिया गर्ने

इलाम । इलामको माङसेबुङ गाउँपालिकामा चारदिने निःशुल्क आँखा परीक्षण शिविर सुरु भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ को ७३औँ जन्मोत्सवको अवसर पारेर आयोजना गरिएको शिविरमा आँखाका बिरामीको परीक्षण तथा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने भएको छ ।

किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा समिति, माङसेबुङ गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो । माङसेबुङ गाउँपालिका कार्यालयमा सुरु भएको शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष हेमन्त राईले गरेका हुन् ।

शिविर दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा माङसेबुङ गाउँपालिका कार्यालयमा बिरामीको आँखा परीक्षण गरी मोतिबिन्दु पहिचान गरिनेछ । दोस्रो चरणमा मङ्सिर २, ३ र ४ गते माङसेबुङ गाउँपालिका–५ स्थित भालुटारमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुनेछ ।

आयोजकका अनुसार शल्यक्रिया शिविरमा यसअघि परीक्षणका क्रममा छनोट भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ । उक्त शल्यक्रिया वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतको उपस्थितिमा हुनेछ ।

शिविरमा डा. रुइतसहित तिलगङ्गा आँखा प्रतिष्ठानका नेत्र रोग विशेषज्ञ डा. भोला यादव, डा. दावा तामाङ र डा. विवेक चौधरी सहभागी छन् । पहिलो चरणमा बिरामीको आँखा परीक्षण, औषधि तथा चस्मा वितरण र मोतिबिन्दु पहिचान भएका बिरामीलाई शल्यक्रियाका लागि सिफारिस गर्ने काम भइरहेको डा. यादवले बताए ।

शिविरमा माङसेबुङका विभिन्न गाउँ तथा क्षेत्रबाट सेवाग्राही सहभागी भएका छन् । परीक्षणका क्रममा मोतिबिन्दु पहिचान भएका बिरामीलाई भालुटारमा हुने शल्यक्रिया शिविरसम्म पुर्‍याउन र उपचारपछि घर फर्काउन गाउँपालिकाले निःशुल्क सवारीसाधनको व्यवस्था गरेको अध्यक्ष राईले बताए ।

नेत्र रोग विशेषज्ञको उपस्थितिमा माङसेबुङमा पहिलोपटक आयोजना भएको शिविरबाट अधिकतम लाभ लिन गाउँवासीलाई उनले आग्रह गरेका छन् ।

त्यस्तै, मोतिबिन्दुको शल्यक्रिया गर्न आउने बिरामीका लागि आयोजकले निःशुल्क खाना र बस्ने व्यवस्था गरेको अङ्सीमाङगेन्ना सेवा समिति अध्यक्ष केहरसिं योङहाङले बताए ।

आँखामा समस्या भए पनि उपचारको पहुँचमा पुग्न नसकेका सर्वसाधारणलाई लक्षित गरी आयोजना गरिएको शिविरबाट माङसेबुङ तथा आसपासका क्षेत्रका नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

भर्खरै

↑