स्वास्थ्य क्षेत्रको समाचारमा मिडिया संवेदनशील हुन आवश्यकः सरोकारवाला

काठमाडौं । स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषण गर्दा सञ्चारमाध्यम थप संवेदनशील र जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।

प्रेस काउन्सिल नेपालले बुधबार आयोजना गरेको ‘मिडियाप्रतिको जनगुनासो र आचारसंहिता’ विषयक अन्तरक्रियामा सहभागी स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूले स्वास्थ्य समाचारले नागरिकको स्वास्थ्य व्यवहार, उपचार निर्णय र अस्पतालप्रतिको विश्वासमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले तथ्यमा आधारित र जिम्मेवार पत्रकारिता आवश्यक रहेको बताएका हुन् । 

काउन्सिलको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, अस्पतालका निर्देशक, चिकित्सक तथा स्वास्थ्य क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।

उनीहरूले उपचार पद्धति, औषधिको प्रयोग र अस्पतालभित्रको सुरक्षा संवेदनशीलताबारे पर्याप्त जानकारी नलिई समाचार सम्प्रेषण गर्दा नकारात्मक असर पर्न सक्ने भन्दै सञ्चारमाध्यमलाई सचेत हुन आग्रह गरे।

स्वास्थ्यसम्बन्धी विषयमा गलत वा अपूर्ण सूचना प्रवाह हुँदा बिरामी तथा सर्वसाधारणमा भ्रम सिर्जना हुन सक्ने उनीहरूको भनाइ थियो। स्वास्थ्य क्षेत्रको सुधारमा सञ्चारमाध्यमले खेलेको भूमिकाको प्रशंसा गर्दै सहभागीहरूले आचारसंहिताविपरीतका समाचारको प्रभावकारी परीक्षण तथा अनुगमन हुनुपर्नेमा जोड दिए।

स्वास्थ्य क्षेत्र र सञ्चारमाध्यमबीच समाचार सम्प्रेषणका विषयमा देखिने समस्या समाधान गर्न प्रेस काउन्सिल नेपालले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा पनि सहभागीहरूले राखेका थिए।

मिडिया अनुगमनकर्ता प्रकाश शर्माले कार्यक्रमको संयोजन तथा सहजीकरण गरेका थिए भने आचारसंहिता अनुगमन महाशाखा प्रमुख रामशरण बोहराले सहभागीका जिज्ञासाको जवाफ दिएका थिए।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नविसमान सिंह प्रधान, वीर अस्पतालका निर्देशक डा. विकास नेपाल, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीलगायत विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाका प्रमुख र प्रतिनिधिहरू सहभागी थिए।

त्यस्तै नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ, औषधि उत्पादक संघ, नेपाल फर्मास्युटिकल एसोसिएसन तथा निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले पनि स्वास्थ्य पत्रकारिताको संवेदनशीलता र जिम्मेवारीबारे धारणा राखेका थिए।कार्यक्रममा प्रेस काउन्सिलका सदस्य तथा कर्मचारीहरूको समेत सहभागिता थियो।

प्रतिकृया दिनुहोस
↑