‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’

काठमाडौं । नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना बढ्दै गए पनि मोबाइलको अत्यधिक प्रयोग, अनिद्रा, सामाजिक सञ्जालको लत, घरेलु हिंसा, मदिरा सेवन र बेरोजगारीजस्ता कारण मानसिक स्वास्थ्यका लागि चुनौती बनिरहेका छन्। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. निकेश राजभण्डारीले शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्ने बताए।

उनका अनुसार विगत डेढ दशकको तुलनामा नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना उल्लेख्य रूपमा बढेको छ। पहिले मानसिक रोग विशेषज्ञकहाँ जान हिचकिचाउनेहरू पछिल्लो समय मनोचिकित्सकको खोजी गर्दै अस्पताल तथा स्वास्थ्य संस्थामा पुग्न थालेका छन्। यसमा सञ्चारमाध्यमले खेलेको भूमिकासमेत महत्वपूर्ण रहेको उनले बताए।

अस्पतालमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या लिएर आउने बिरामीको संख्या बढ्दै जानुको अर्थ रोग नै बढेको भन्ने मात्र नभएको डा. राजभण्डारीको भनाइ छ। जनचेतना र उपचार सेवामा पहुँच बढेकाले पनि बिरामीको संख्या बढेको देखिएको उनले स्पष्ट पारे।

उनले विश्व स्वास्थ्य संगठनको तथ्यांक उद्धृत गर्दै न्यून तथा मध्यम आय भएका देशमा विगतमा मानसिक स्वास्थ्य समस्या भएका ठूलो संख्याका मानिस उपचारको पहुँचबाहिर रहेको बताए। अहिले उपचार खोज्ने प्रवृत्ति बढेकाले अस्पतालमा बिरामीको संख्या बढेको देखिएको उनको भनाइ छ।

महाभूकम्प, कोरोना महामारी तथा प्राकृतिक विपद्ले पनि मानसिक स्वास्थ्यमा असर पारेको डा. राजभण्डारीले बताए। उनका अनुसार मानसिक स्वास्थ्य समस्याका जैविक, वातावरणीय र मनोवैज्ञानिक गरी तीन प्रमुख कारण छन्।

अटिजम, एडीएचडी र स्किजोफ्रेनियाजस्ता समस्यामा जैविक तथा वंशानुगत कारण महत्वपूर्ण हुन सक्छन्। त्यस्तै, गरिबी, बेरोजगारी, वातावरणीय तनाव र सामाजिक सम्बन्धमा आउने समस्याले पनि मानसिक स्वास्थ्यमा असर पार्छन्।

नेपाली समाजमा घरेलु हिंसा, मदिरा सेवन र पारिवारिक सम्बन्धमा उत्पन्न हुने तनावका कारण महिलामा डिप्रेसन तथा एन्जाइटीको समस्या देखिन सक्ने उनले बताए। विशेषगरी श्रीमान् वैदेशिक रोजगारीमा रहेका महिलाले शंका, अविश्वास र पारिवारिक तनावको सामना गर्नुपर्दा मानसिक स्वास्थ्यमा असर पर्ने गरेको उनको भनाइ छ।

युवापुस्तामा मोबाइलको अत्यधिक प्रयोग, अनिद्रा, सामाजिक सञ्जालको लत, गेमिङ, जुवा तथा लागुपदार्थको सेवनले मानसिक स्वास्थ्यमा थप चुनौती सिर्जना गरिरहेको डा. राजभण्डारीले बताए।

लामो समयसम्म तनाव कायम रहेमा मोटोपन, मधुमेह, उच्च रक्तचाप तथा मुटुसम्बन्धी रोगको जोखिमसमेत बढ्न सक्ने उनले बताए। त्यसैले मानसिक स्वास्थ्यलाई बेवास्ता नगरी समयमै समस्याको पहिचान र उपचारमा ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ।

मानसिक स्वास्थ्य स्वस्थ राख्न दैनिक जीवनशैली व्यवस्थित बनाउने, पोषिलो खाना खाने, पर्याप्त निद्रा लिने, काम गर्ने समय नियमित बनाउने र दुर्व्यसनबाट टाढा रहने सुझाव उनले दिए। मानसिक स्वास्थ्य समस्या देखिएमा आवश्यक परामर्श तथा उपचार लिन पनि उनले आग्रह गरे।

मानसिक स्वास्थ्य सेवाको प्रभावकारी विस्तारका लागि सरकारले नीतिगत तहमा मानसिक स्वास्थ्यसम्बन्धी कानुन निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा पनि डा. राजभण्डारीले जोड दिए।

प्रतिकृया दिनुहोस
↑