नेपालमा झन्डै ३० लाखलाई बाथरोगको समस्या

काठमाडौं । नेपालमा झन्डै ३० लाख मानिसमा बाथरोगको समस्या रहेको बाथरोग विशेषज्ञहरूले बताएका छन्। आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्रका प्रमुख डा. बुद्धि पौडेलले उक्त तथ्य सार्वजनिक गरेका हुन्।

नेपाल बाथरोगमैत्री समाजले विश्व बाथरोग दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा डा. पौडेलले बाथरोगले सबै उमेर समूहका मानिसलाई असर गर्ने बताए। समयमै उपचार नगरे शरीरका जोर्नी बाङ्गिने, कुरूप हुने र स्थायी रूपमा कमजोर बन्ने जोखिम रहेको उनले जानकारी दिए।

पाटन अस्पतालका बाथरोग विशेषज्ञ डा. केशव सिग्देलले जाडो मौसममा बाथरोगका बिरामीको दुखाइ बढ्ने बताए। पछिल्ला वर्षमा बाथरोगका बिरामीको संख्या बढ्दै गएको उनको भनाइ थियो।

बाथरोगलाई धेरैले युरिक एसिड बढ्ने समस्या वा सामान्य जोर्नी दुखाइका रूपमा मात्र बुझ्ने गरेको उल्लेख गर्दै उनले लक्षण देखिएमा समयमै विशेषज्ञ चिकित्सकसँग परामर्श लिन आग्रह गरे।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायतका संस्थाले अक्टोबर १२ मा विश्व बाथरोग दिवसका अवसरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यस दिवसले बाथरोगसम्बन्धी जानकारी फैलाउने, समयमै पहिचान र उपचारको महत्त्व बुझाउने तथा रोगबारे रहेका भ्रम हटाउने उद्देश्य राख्छ।

नेपाल बाथरोगमैत्री समाजले आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्र, जावलाखेलको प्राविधिक सहयोगमा विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिकृया दिनुहोस
↑