बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगको आवश्यकता छ : डा.अधिकारी
काठमाडौं । अष्ट्रेलियामा कार्यरत चिकित्सक डा. समृद्धि अधिकारीले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका क्षेत्रमा प्रभावकारी स्वास्थ्य सेवा तथा मनोसामाजिक परामर्शको आवश्यकता रहेको बताएकी छन् ।
बाढी प्रभावितलाई सहयोग गर्ने उद्देश्यले उनले ‘मिसन नेपाल’ अभियान सुरु गरेकी हुन् । उक्त अभियानअन्तर्गत असल छिमेकी नेपाल र नेपाल इन्टरनेसनल फेलोसिपसँगको सहकार्यमा रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले बताइन् ।
अष्ट्रेलियामै हुर्केकी डा.अधिकारीले बाढीले गरेको व्यापक विध्वंशको खबर सुन्नासाथ नेपाल आएर आफ्नो चिकित्सकीय सीपमार्फत सहयोग गर्ने सोच आएको बताइन् ।‘बाढी आएको खबर हेर्दा र पढ्दा नेपालको अवस्थाले निकै दुःखी बनायो । के गरेर सहयोग गर्न सकिन्छ भन्ने सोच आयो । मेरो चिकित्सकीय पृष्ठभूमि भएकाले यही बेला आएर सेवा दिनुपर्छ भन्ने लाग्यो,’ उनले भनिन् ।
मिसन नेपालमार्फत सञ्चालन गरिएको स्वास्थ्य शिविरमा बालबालिकाको मनोसामाजिक अवस्थालाई पनि प्राथमिकतामा राखिएको उनले बताइन् । कुराकानीमा उनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालनका क्रममा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म विभिन्न स्वास्थ्य समस्या देखिएको बताइन् ।
बाढीका कारण परिवारका सदस्य गुमाएका बालबालिकामा मानसिक तथा मनोवैज्ञानिक असर परेको उनले बताइन् । विशेषगरी अभिभावक गुमाएका बालबालिकामा चिन्ता, डिप्रेसन, छुट्टिने डर र व्यवहारमा परिवर्तन देखिएको उनको भनाइ छ ।‘बाढीमा आमा–बुबा गुमाएका बालबालिकाको मनोवैज्ञानिक अवस्था देख्दा एकदमै दुःख लाग्यो । उनीहरूमा व्यवहार परिवर्तन भएको, एन्जाइटी, सेपरेसन एन्जाइटी र डिप्रेसनजस्ता समस्या देखिन थालेका छन्,’ उनले भनिन् ।
उनका अनुसार प्रभावित क्षेत्रमा बालबालिकालाई मनोसामाजिक परामर्शसँगै आर्ट थेरापी र सिर्जनात्मक गतिविधिमार्फत आफ्ना भावना व्यक्त गर्न सहयोग भइरहेको छ । यस्ता गतिविधिले बालबालिकालाई दुःख र पीडाबाट बाहिर निस्कन सहयोग पुग्ने उनले बताइन् ।डा.अधिकारीले बाढी प्रभावित क्षेत्रमा अस्थायी आवास तथा होल्डिङ सेन्टरको अवस्था पनि कमजोर रहेको बताइन् । धेरै मानिस सीमित सुविधामा बस्न बाध्य भएको र एउटै स्थानमा धेरै परिवार बस्दा सरसफाइ तथा स्वास्थ्यसम्बन्धी समस्या देखिएको उनको अनुभव छ ।
उनले भनिन्,‘एउटा अस्थायी शिविरमा धेरै विस्थापितहरु बसी रहनु भएको थियो । दुईवटा मात्रै बाथरुम थिए । जसका कारण पनि स्वास्थ्य समस्या आइरहेको थियो । परिवारका सदस्य गुमाएका, विस्थापित भएका र अस्थायी आश्रयमा बसेका मानिसहरूको अवस्था निकै कठिन देखियो ।’स्वास्थ्य शिविरका क्रममा ज्वरो, चोटपटक, घाउको उपचार तथा दीर्घरोग भएका बिरामीले नियमित स्वास्थ्य सेवा पाउन नसकेको पनि उनले बताइन् । स्वास्थ्यकर्मी र औषधिको अभावका कारण कतिपय बिरामीको उपचार प्रभावित भएको उनको भनाइ छ ।
त्यस्तै, राहत सामग्री वितरणमा समेत प्रभावकारी व्यवस्थापन हुन नसकेको उनले औँल्याइन् । आवश्यकताभन्दा बढी सामग्री केही समुदायमा पुग्ने तर कतिपय ठाउँमा आवश्यक सामग्री नै नपुग्ने अवस्था देखिएको उनले बताइन् ।‘मैले प्रयोगमा नआएका टेन्टहरू भुइँमा फालिएको देखेँ । एउटा समुदायले २५ वटा प्रेसर कुकर पाएको भन्ने पनि सुनियो । एउटै समुदायलाई त्यति धेरै प्रेसर कुकर आवश्यक नहुन सक्छ । त्यसैले राहत सामग्रीको वितरण र व्यवस्थापन आवश्यकताका आधारमा हुनुपर्छ,’ उनले भनिन् ।
प्रभावित क्षेत्रमा सडक र पुल भत्किएका कारण स्वास्थ्य सेवा तथा राहत सामग्री पु¥याउनसमेत कठिनाइ भएको उनले बताइन् । वर्षाका कारण आवतजावत झन् कठिन हुँदा बिरामीसम्म स्वास्थ्य टोली पुग्न समस्या भएको उनको अनुभव छ ।ज्येष्ठ नागरिकमा घुँडा, खुट्टा र ढाड दुख्नेजस्ता दीर्घकालीन मांसपेशी तथा हाडजोर्नीसम्बन्धी समस्या धेरै देखिएको उनले बताइन् । यस्ता समस्यामा सामान्य औषधि र मलमले मात्रै समाधान नहुने भन्दै उनले पुनस्र्थापना, फिजियोथेरापी र नियमित स्वास्थ्य सेवाको आवश्यकता औँल्याइन् ।
‘ज्येष्ठ नागरिकलाई मलम र औषधि मात्रै दिएर हुँदैन । उहाँहरूलाई होलिस्टिक हेल्थ केयर चाहिन्छ । औषधिसँगै रिह्याबिलिटेसन, मोबिलिटी सपोर्ट र लामो समयसम्म फिजियोथेरापी पनि आवश्यक हुन्छ,’ उनले भनिन् ।डा. अधिकारीले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले ‘मिसन नेपाल’ नामक संस्था स्थापना गरी स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिइन् । असल छिमेकी नेपाल र नेपाल इन्टरनेसनल फेलोसिपसँगको साझेदारीमा रसुवा र नुवाकोटमा स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले बताइन् ।
हालसम्म उक्त परियोजनाका लागि करिब ३ हजार ९ सय रकम फन्डरेजिङ भएको र लक्ष्य अझै ठूलो रहेको उनले जानकारी दिइन् ।उनका अनुसार अहिले परियोजना प्रभावित क्षेत्रको अवस्था, स्वास्थ्य सेवामा रहेका कमीकमजोरी र आवश्यकताबारे अध्ययन तथा समीक्षा गर्ने चरणमा छ । त्यसपछि संकलित रकम आवश्यकताका आधारमा वितरण गरी प्रभावित समुदायका स्वास्थ्यसम्बन्धी समस्या समाधानमा खर्च गरिनेछ ।
उनले विपद्का बेला एकपटक राहत दिएर मात्रै नहुने भन्दै प्रभावित समुदायसँग निरन्तर सम्पर्क र सहकार्य आवश्यक रहेको बताइन् ।उनले भनिन्,‘एकपटक गएर हेरेर मात्रै हुँदैन । त्यहाँका मानिसहरूलाई फेरि भेट्नुपर्छ, उनीहरूको अवस्था बुझ्नुपर्छ र निरन्तर सेवा दिनुपर्छ । हामीले स्थानीय संस्थासँग मिलेर दीर्घकालीन रूपमा काम गर्न खोजेका छौँ।’
डा. अधिकारीले भविष्यमा विपद् प्रभावित क्षेत्रबाहेक जेलमा रहेका कैदीबन्दी, अनाथ बालबालिका, मानव बेचबिखनबाट प्रभावित व्यक्ति र ग्रामीण क्षेत्रका स्वास्थ्य सेवाबाट वञ्चित समुदायसम्म पनि समग्र स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य राखेको बताइन् ।अष्ट्रेलियामा सिकेको ज्ञान, सीप र अनुभव नेपालमा उपयोग गर्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै उनले विदेशमा हासिल गरेको सीप नेपालकै सेवामा लगाउनुपर्नेमा जोड दिइन् ।
‘विदेशमा गएर हामीले आफ्नो प्रतिभा र सीपलाई अझ परिष्कृत गर्न सक्छौँ । तर त्यो सीप विदेशमै मात्रै राख्नु हुँदैन । नेपाल फर्काएर नेपालको सेवामा पनि लगाउनुपर्छ भन्ने मेरो ठूलो चाहना हो,’ उनले भनिन्।आगामी दिनमा नेपाल फर्किएर दीर्घकालीन रूपमा स्वास्थ्य सेवाको समग्र मोडल विकासको लागि काम गर्ने र स्थानीय संस्थासँगको सहकार्यलाई निरन्तरता दिने योजना रहेको पनि उनले बताइन् ।
भर्खरै
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगको आवश्यकता छ : डा.अधिकारी
तनहुँको व्यासमा आँखा उपचार केन्द्र सञ्चालन, अब स्थानीयस्तरमै सेवा
स्वास्थ्य तथा शिक्षा क्षेत्रको सर्वाधिक करदाता बन्यो नोबेल मेडिकल कलेज
बेलायतमा गर्भपतन अभियोगमा दोषी ठहरिएका महिलालाई स्वतः माफी
करिब २० हजार कुखुरामा छाप लगाई मासु जाँच ऐन कार्यान्वयन सुरु
काठमाडौंमा बढ्दै वायु प्रदूषण, दम र निमोनियाका बिरामीलाई बढी जोखिम
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
धेरै पढिएको
व्यायामका लागि छुट्टै समय चाहिँदैन, दैनिक गतिविधिले नै जोगाउँछ मुटु
भिमफेदी दुर्घट्ना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो
मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते
आज विश्व निमोनिया दिवस, बालबालिकाको मृत्युको प्रमुख कारणमध्ये एक निमोनिया
कङ्गोमा इबोला सङ्क्रमित ११ हजार नाघे, पाँच हजारभन्दा बढीको मृत्यु
आजको मौसम: चार प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
सुनसरीमा मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु, पाँच जना घाइते




प्रतिकृया दिनुहोस