मानसिक स्वास्थ्य सचेतना र पुनःस्थापनाका लागि नेपाल–भारतका संस्थाबीच सहकार्य

काठमाडौं  । मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, प्रभावित व्यक्तिलाई मनोसामाजिक सहयोग तथा पुनःस्थापनाका कार्यक्रम विस्तार गर्न नेपाल र भारतका दुई संस्थाबीच सहकार्य हुने भएको छ ।

भारतको गोवास्थित गाना गोवा मानसिक स्वास्थ्य अस्पताल तथा पुनःस्थापना केन्द्र र नेपालको ललितपुरस्थित युनाइटेड फेलोसिप नेपाल (युएफएन) ले मानसिक स्वास्थ्यका क्षेत्रमा संयुक्त रूपमा काम गर्ने विषयमा छलफल गरेका हुन् ।

‘स्वस्थ भोलिका लागि सँगै अघि बढौँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी समस्याबारे जनचेतना फैलाउने, प्रभावित व्यक्तिलाई आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने र उनीहरूको पुनःस्थापनाका लागि सामाजिक सहयोग विस्तार गर्ने विषयमा जोड दिइएको थियो ।

कार्यक्रमअन्तर्गत गोवामा आयोजित संयुक्त बैठकमा गाना गोवाका मनोचिकित्सक डा. प्याट्रिक, मनोसामाजिक परामर्शदाता फ्रान्सिस्को फर्नान्डिस र युनाइटेड फेलोसिप नेपालका संस्थापक अध्यक्ष सुजिन महर्जन सहभागी थिए ।

बैठकमा मानसिक स्वास्थ्यका क्षेत्रमा अनुभव आदानप्रदान, मनोसामाजिक सहयोग विस्तार तथा पुनःस्थापनासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल भएको महर्जनले जानकारी दिए ।

मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट प्रभावित व्यक्तिलाई आवश्यक परामर्श, सहयोग र पुनःस्थापनाको अवसर उपलब्ध गराउनुका साथै उनीहरूप्रति सकारात्मक दृष्टिकोण विकास गर्नुपर्नेमा सहभागीले जोड दिए । मानसिक स्वास्थ्य समस्यालाई हेर्ने सामाजिक दृष्टिकोणमा सुधार ल्याउन र प्रभावित व्यक्तिलाई सम्मानजनक जीवनयापनका लागि सहयोग गर्न संस्थागत सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

महर्जनले नेपाली टोलीलाई न्यानो स्वागत र आत्मीय आतिथ्य प्रदान गरेकामा गाना गोवा मानसिक स्वास्थ्य अस्पताल तथा पुनःस्थापना केन्द्रको टोलीप्रति आभार व्यक्त गरे ।

दुवै संस्थाबीचको सहकार्यले आगामी दिनमा मानसिक स्वास्थ्य सचेतना, मनोसामाजिक परामर्श, प्रभावित व्यक्तिको पुनःस्थापना तथा सामाजिक पुनःएकीकरणका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस
↑