कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारिरहेको प्रभाव र स्वास्थ्य प्रणालीको उत्थानशीलतासम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्ने भएकी छन्।

टर्कीको अन्टाल्यामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) अन्तर्गत नोभेम्बर ९ मा नेपाल पेभिलियनमा उक्त छलफल आयोजना हुँदैछ।

‘जलवायु कार्ययोजनाको केन्द्रमा स्वास्थ्य : एक विश्वव्यापी दृष्टिकोण’ विषयक छलफल स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, इपास नेपाल र विश्व स्वास्थ्य संगठन नेपालको सहकार्यमा आयोजना हुन लागेको हो। कार्यक्रममा मन्त्री मेहताले सत्र अध्यक्षका रूपमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

छलफलमा जलवायु परिवर्तनका कारण जनस्वास्थ्यमा देखिएका चुनौती, जलवायुजन्य विपद्ले स्वास्थ्य सेवा प्रवाहमा पार्ने प्रभाव तथा जलवायु अनुकूल र उत्थानशील स्वास्थ्य प्रणाली निर्माणका विषयमा विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय साझेदारबीच विचार आदानप्रदान हुनेछ।

जलवायु परिवर्तनका कारण बाढी, पहिरो, अत्यधिक गर्मी, संक्रामक रोगको बदलिँदो स्वरूप तथा खाद्य र पानीको असुरक्षाजस्ता समस्या बढ्दै गएका छन्। यी समस्याले स्वास्थ्य संस्थाको पूर्वाधार, स्वास्थ्यकर्मी, औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति र अत्यावश्यक स्वास्थ्य सेवामा प्रत्यक्ष असर पारिरहेका छन्।

यस्तो अवस्थामा स्वास्थ्य क्षेत्रलाई जलवायु अनुकूलनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योजनामा प्राथमिकताका साथ समेट्नुपर्ने विषय छलफलमा उठाइनेछ।

त्यसैगरी, जलवायु जोखिममा रहेका मुलुकको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य क्षेत्रका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तको उपलब्धता, स्वास्थ्यसम्बन्धी राष्ट्रिय अनुकूलन योजना कार्यान्वयन तथा जलवायुजन्य विपद्बाट हुने स्वास्थ्यसम्बन्धी हानि तथा नोक्सानीको मूल्याङ्कनका विषयमा नेपालको धारणा प्रस्तुत गरिनेछ।

नेपालले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकूलनका प्रयासमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको छ। सम्मेलनमार्फत स्वास्थ्य क्षेत्रका लागि अन्तर्राष्ट्रिय सहकार्य, वित्तीय सहयोग र नीतिगत प्रतिबद्धताको आवश्यकता उठाउने तयारी गरेको छ।

जलवायु परिवर्तनले निम्त्याउने स्वास्थ्य जोखिम न्यूनीकरण, स्वास्थ्य सेवाको निरन्तरता र विपद् प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माणका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता जुटाउन यो छलफल महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस
↑