प्रसिद्ध आँखा चिकित्सक डा सन्दूक रुइत र सनातन धर्म शङ्करराचार्य पीठ वेद वेदवेदाङ्ग संस्कृत पाठशाला झापालाई आज यहाँ एक समारोहबीच सम्मान गरिएको छ ।
पूर्वप्रधानमन्त्री नगेन्द्र प्रसाद–आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा स्थापित रु एक लाख राशिको ज्ञान विज्ञान पुरस्कार डा रुइतलाई र रु एक लाख राशिको धर्म संस्कृति पुरस्कारबाट संस्कृत पाठशालालाई प्रदान गरिएको हो ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले पुरस्कार प्रदान गर्दै आँखा उपचार क्षेत्रमा स्वदेश तथा विदेशमा ठूलो योगदान दिनुभएका डा रुइतप्रति नेपाली जनता गौरव अनुभूति गरेको बताए । उनले हाम्रो देशमा विविध जातजाति, भाषासंस्कृति बसोबास गर्ने नागरिकबीच आपसी मेलमिलाप, एकता र धार्मिक सहिष्णुताबाट मुलुक र समाजमा समृद्धि कायम हुने विचार राखे ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले मुलुकको नाम विश्वमा फैलाउन सफल हुनुभएका डा रुइतलाई सम्मान गर्न पाउँदा निकै खुशी लागेको बताए।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सीमित स्रोत साधनको अधिकतम उपयोग गरी नागरिकलाई स्वास्थ्य सेवा एवं नगरको विकासकार्य गरिरहेको विचार व्यक्त गरे ।
सम्मानित व्यक्तित्व डा रुइतले यस सम्मानबाट आफू खुशी भएको उल्लेख गर्दै जनताको अकाल मृत्युलाई जोगाउन सरकारले आवश्यक अनुगमनसहित गुणस्तरीय सवारी साधन र हवाई यातायातको प्रयोग गर्नुपर्ने सुझाव दिए।
प्रतिष्ठानका अध्यक्ष इन्दिरा रिजाल, सम्मानित सस्कृत पाठशालाका प्राचार्य लक्ष्मी खतिवडा र अच्युत प्रपन्नचार्य र प्राडा हरिप्रसाद अधिकारीले समाजमा धर्म संस्कृतिको रक्षा गर्न हामीसबै लाग्नुपर्नेमा जोड दिए ।
स्व रिजाल विस २०३० र २०४२ मा गरी दुईपटक प्रधानमन्त्री भएका थिए ।