खाद्य तथा पोषण सुरक्षा कार्यक्रम थप चार जिल्लामा लागू भएको छ । धनुषा र महोत्तरीका बाढी प्रभावित गाउँपालिकाका गरिब तथा विपन्न कृषकलाई लक्षित गरेर कार्यक्रम लागू भएको हो ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर एकाइ धनुषाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले महोत्तरीको समसी र सोनमा गाउँपालिका तथा धनुषाको बटेश्वर र जनकनन्दनी गाउँपालिकाका चार पालिकामा कार्यक्रम थप भएको जानकारी दिए। उनले दोस्रो चरणअन्तर्गतको कार्यक्रमका लागि छनोट भएका पालिकामा आर्थिक वर्ष सुरू भएको पहिलो महिनामा पाँच सय ४० वटा समूह गठन गरिसकेको बताए ।
पहिलो चरणअन्तर्गत धनुषाका मुखियापट्टी मुसहरनीया, धनौजी तथा महोत्तरीको पिपरा र एकडरा गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रम मधेस प्रदेशका सप्तरी तथा सिरहा जिल्लामा पनि सञ्चालन भइरहेको छ ।
यो कार्यक्रम विश्व बैंकको अनुगमन, खाद्य तथा कृषि सङ्गठनको प्राविधिक सहयोग, ग्लोबल एग्रीकल्चर फुड सेक्युरिटी कार्यक्रमको आर्थिक सहयोगमा नेपाल सरकारले कार्यान्वयन गरिरहेको छ ।