काठमाडौं । सरकारले नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागेको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको छ । एउटा कार्यदलले दिएको प्रतिवेदन पारित गरेर आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले मापदण्डलाई अन्तिम निष्कर्षमा पुर्‍याउन यससँग सम्बन्धित विभिन्न निकायसँग छलफल भइरहेको बताए । उनका अनुसार नयाँ व्यवस्था कार्यान्वयनमा आएमा १२ कक्षापछि तीन वर्षको नर्सिङ विषयको पढाइ हुन्छ । नयाँ व्यवस्था अनुसार जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले पनि नर्सिङ पढ्न पाउने छन् ।

नर्सिङ शिक्षाको दायरा फराकिलो बनाउने विषयमा अध्ययन गर्न गत वर्ष आयोगले नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्रा। सरला केसीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले १२ कक्षा उत्तीर्ण गरेपछि मात्रै नर्सिङ विषयको पढाइ सञ्चालन गर्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन दिएको थियो ।

आयोगले एसइई गरेको दुई वर्षको आधारभूत अध्ययनपछि मात्रै नर्सिङ पढ्ने व्यवस्था गर्दा विद्यार्थीका लागि अध्ययनको जग बसाल्न सहयोग पुग्ने तथा अन्तर्राष्ट्रिय अभ्याससँग पनि एकरूपता हुने जनाएको छ ।

नेपाल नर्सिङ काउन्सिलमा ८३ हजार नौ सय ६६ जना नर्स दर्ता छन् । तर अधिकांश नर्सको रोजगारीको गन्तव्य भने विदेश हुने गरेको देखिन्छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0