नेपालगन्ज ४ स्थित कन्या माविमा अध्ययनरत मुस्लिम र मधेश समुदायका १४० जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको पहिलो खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०८०/०८१ का लागि जिल्लामा आएको पाठेघरको मुखको क्यान्सर विरुद्धको एक हजार २१५ डोजमध्ये बाँकी रहेको १४० डोजलाई नेपालगन्जको कन्या माविका बालिकालाई लगाइएको बताए । उनले विद्यालयमै पुगेर कन्या माविमा अध्ययनरत १० देखि १४ वर्ष उमेरका १४० जना किशोरीलाई खोप लगाइएको बताए ।
नेपालगन्ज ४ स्थित कन्या माविमा अधिकांश मुस्लिम र मधेशी समुदायका बालिकाहरू मात्र पढ्ने भएकोले सो विद्यालयलाई छनोट गरेर त्यहाँ खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । चालु आर्थिक वर्षमा पनि पाठेघरको मुखको क्यान्सर विरुद्धको थप खोप माग गरिएको जनाउँदै स्वास्थ्य कार्यालयका सूचना अधिकारी श्रेष्ठले चालु आर्थिक वर्षको दोस्रो वा तेस्रो चौमासिकमा खोप लगाइने बताए ।
गत वर्ष नेपालगन्जमा करिब एक हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको पहिलो र दोस्रो डोज लगाइएको थियो । स्वास्थ्य कार्यालयका अनुसार एचपिभी खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनु पर्दछ । यो खोपको दुई मात्रा पूरा गरेमा यसको प्रभावकारिता ९५ प्रतिशत देखिएको छ ।