विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक फिजियोथेरापी सहितको परम्परागत चिनियाँ उपचार पद्धतिको स्तरबृद्धि गरिएको छ । अस्पतालमा अत्याधुनिक उपकरण थप गरी सेवा विस्तार गरिएको हो ।
परम्परागत चिनियाँ उपचार विशेषज्ञ चिकित्सक च्या सोङ्ग थाओका अनुसार रु ७० लाखभन्दा बढीका उपकरण थप गरी सेवा विस्तार गरिएको छ । यसैगरी रु २५ लाख बराबर खर्च गरेर उपचार कक्ष स्तरोन्नति गरिएको छ । फिजियो थेरापी सहित एक्युपञ्चर, कपिङ्ग, स्क्रब मसाज थेरापी, बोन सेटिङ्ग, फ्यूमेजिकेशन लगायतका परम्परागत चिनियाँ उपचार हुने उनले बताए ।
चिकित्सक थाओले भन्ने “विगतमा थोरै उपकरणले सेवा दिंदै आएका थियौं, अहिले अत्याधुनिक नयाँ उपकरण थप गरेर सेवा विस्तार गरेका छौं ।” चीन सरकारको आर्थिक सहयोगमा नै यी उपकरण र स्तरबृद्धिको काम गरिएको उनले जानकारी दिए ।
अर्का परम्परागत चिनिया उपचार विशेषज्ञ चिकित्सक लिउ च्यान चिर्रले मिडियम फ्रिक्वान्सी थेरापी डिभाईस, लो फ्रिक्वान्सी थेरापी डिभाइस, लिम्ब लिङ्केज मेडिकल डिभाईस, ट्रेड मिल, मोटराइज मुभमेन्ट थेरापी डिभाईस, स्टेण्डिङ्ग फ्रेम, ब्यालेन्सिङ बार लगायतका ३० भन्दा बढी आधुनिक उपकरण ल्याइएको जानकारी दिए ।
नसा, दीर्घकालिन दुखाइ व्यवस्थापन , हड्डीको समस्याको उपचार परम्परागत चिनिया पद्धति र आधुनिक उपकरणको समिश्रणबाट गरिने उहाँले बताउनुहुन्छ । उहाँले भन्नुभयो “क्रोनिक पेन, न्यूरोलोजिकल डिस अर्डर र ट्रमा इन्जुरीको चिनिया परम्परागत पद्धति सहित आधुनिक उपकरणको प्रयोग गरेर हामीले उपचार गर्दछौं ।”
हाल दस प्रतिशत हाराहारी क्यान्सरका र ९० प्रतिशत हाराहारी क्यान्सर बाहेकका बिरामी उपचारका लागि आउने गरेका छन् । यहाँ मासिक छ सय हाराहारी बिरामीलाई सेवा दिंदै आएकोमा अब यो संख्या बढ्ने अपेक्षा उनको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा।शिवजी पौडेलले फिजियोथेरापीे सेवा क्यान्सरका बिरामीका लागि मात्रै नभएर सबैले लिन सक्ने बताए । यस्तो सुविधा अन्यत्र नेपालमा नभएको जनाउँदै उनले न्यून शुल्कमा सेवा लिन सकिने बताए । उजले भन्ने “दीर्घकालिन दुखाइ, नसा च्यापिएको, ढाड दुखेको, खुट्टा झम्झमाउने लगायतका बिरामीले यो सेवा लिन सक्नुहुन्छ ।” चिनियाँहरुले सञ्चालन गरेको भएपनि यसको आम्दानी अस्पतालकै हुने उनले बताए ।