नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दन्त चिकित्सा स्नातक तह (बीडीएस) को अध्यापन हुने भएको छ । बाँकेको कोहलपुरमा दन्त चिकित्सा स्नातक तह (बीडीएस) को अध्यापन सुरु गर्न लागिएको हो ।

दन्त चिकित्सा अध्ययनका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले सबै तयारी पूरा गरेको जनाएको छ । नेपालगन्ज मेडिकल कलेजका अध्यक्ष डा। खुमाप्रसाद अर्यालले नेपालमा पछिल्लो समय सामान्य जनमानसमा मुख स्वास्थ्यप्रतिको चेतना वृद्धिसँगै दन्त चिकित्सकको अध्ययनमा रुचि बढ्दै गएको पाइएको बताए।

उनले मुख खानेकुराको प्रवेशद्वार भएको हुँदा केही समस्या हुनासाथ मानिसहरू चिकित्सकलाई देखाउन पुगिहाल्ने हुँदा सहरी क्षेत्रमा थुप्रै दन्त क्लिनिक खुल्न थालेकोले बीडीएसप्रति आकर्षण बढेकोले बिडिएसको अध्ययन सुरु गरिएको बताए ।

नेपालमै बीडीएसको अध्ययन–अध्यापन प्रारम्भ भएपछि सो का लागि विदेश पढ्न जाने विद्यार्थीको सङ्ख्यामा कमी आएकोले नेपालबाट दन्त चिकित्सक पढ्ने विद्यार्थीबाट वार्षिक रूपमा बिदेसिने अर्बौँ रुपियाँ जोगिएको अध्यक्ष अर्यालको भनाइ छ ।

सोही क्रममा दन्त चिकित्सामा स्नातक अध्यापन गराउनका लागि सो मेडिकल कलेजले कोहलपुर शिक्षण अस्पतालमा डेन्टल अस्पताल विधिवत् रूपमा सञ्चालनमा ल्याएको छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा। भोला थापाले हालै सो अस्पतालको उद्घाटन गरेका थिए।

हालका लागि हरेक वर्ष ४० जना विद्यार्थीलाई बिडिएसमा भर्ना गर्ने गरी तयारी गरिएको जनाउँदै आवश्यकता अनुसार कोटा थप गर्दै जाने पनि बताइएको छ ।

सो मेडिकल कलेजले हाल एमबिबिएसमा हरेक वर्ष सय जना विद्यार्थीलाई भर्ना गर्दै आएको छ भने कोहलपुर र नेपालगन्जमा ठुला शिक्षण अस्पताल सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0