स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रालयले सङ्घीय तथा प्रादेशिक अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।स्वास्थ्य सेवा विभागले आज यहाँ आयोजना गरेको ‘सङ्घीय तथा प्रादेशिक अस्पताललाई स्वास्थ्यजन्य उपकरण हन्तान्तरण’ कार्यक्रममा स्वास्थ्य सचिवद्वय डा. रोशन पोखरेल र हरिप्रसाद मैनालीले ती अस्पतालका निर्देशकलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरे ।

कार्यक्रममा स्वास्थ्य सचिव डा. पोखरेलले अस्पतालको मागअनुसार स्वास्थ्य उपकरण प्रदान गरिएको बताए । अस्पतालले नागरिकमैत्री सेवा प्रवाह गर्दै उपकरणको सहीतरिकाले प्रयोग गर्नुपर्ने उनले बताए ।

उनले स्वास्थ्य सामग्री खरिद प्रक्रिया जटिल रहेकाले प्राप्त उपकरणको संरक्षण पनि अस्पतालले गर्नुपर्नेमा जोड दिए । मन्त्राललयका सचिव मैनालीले स्वास्थ्य उपकरणलाई पारदर्शी किसिमले नागरिकलाई सेवा दिन सञ्चालन गर्नुपर्ने बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सङ्गिता कौशल मिश्राले माग र औचित्यको आधारमा उपकरण सञ्चालन गर्ने सक्ने जनशक्ति भएका अस्पताललाई मात्र उपकरण दिइएको जानकारी दिइन् । “अस्पतालले उपकरण प्रयोग र मर्मत गर्न सक्ने अवस्था हेरेर उपलब्ध गराएका छौँ”, उनले भनिन, “अस्पतालले उपकरण सञ्चालन गरेका छन कि छैनन भनेर अनुगमन गर्नेछौँ ।”

महानिर्देशक डा. मिश्राले एक वर्षसम्म कुनै पनि अस्पतालले उपकरण सञ्चालन नगरे ती उपकरण अन्य अस्पताललाई दिइने बताए । विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा.श्रवणकुमार थापाले सङ्घ, प्रदेशका ४२ अस्पताललाई स्वास्थ्य उपकरण वितरण गरिएको जानकारी दिए ।

काठमाडौँका वीर, त्रिवि शिक्षण, कान्ति बाल, निजामति कर्मचारी र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका साथै भेरी प्रादेशिक अस्पताल, भरतपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0