महोत्तरीस्थित जलेश्वर नाका भिठ्ठामोडमा निर्माण गरिएको स्वास्थ्य सहायता कक्ष भवन जलेश्वर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
देशका प्रमुख सीमानाकामा स्वास्थ्य सहायता कक्ष सञ्चालनगरी सङ्क्रामक रोग नियन्त्रण र निवारण गर्ने सरकारको नीतिअनुसार अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘सेभ द चिल्ड्रेन’को सहयोगमा निर्मित भवन आज नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहको उपस्थितिमा सेभ द चिल्ड्रेनको ग्लोबल फण्ड कार्यक्रमका चिफ अफ पार्टी दीपक पौडेलले जलेश्वर नगरपालिकालाई भवनको स्वामित्व हस्तान्तरण गरे ।
त्यसअवसरमा मन्त्री सिंहले भवन निर्माणपछि उक्त नाका भएर आउने नागरिकलाई स्वास्थ्य परामर्श, परीक्षणमार्फत सङ्क्रामक रोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले सहयोगी संस्थाले निर्माण गरेको भवन र संरचनाको सही उपयोगगरी बढीभन्दा बढी लाभ लिनेगरी काम गर्न निर्देशन दिए ।
कार्यक्रममा सहयोगी संस्थाका प्रतिनिधि पौडेलले नेपालमा ग्लोबल फण्ड कार्यक्रमले एचआइभी, क्षयरोग, औलो उन्मूलन र कोभिड–१९ नियन्त्रणका लागि सरकारका योजना तथा कार्यक्रममा सहयोग गरिरहेको जानकारी दिए । उहाँले जोखिममा रहेका आप्रवासी जनसङ्ख्या र स्थानीय समुदायमा सङ्क्रामक रोगको रोकथाम र नियन्त्रण गर्न सहायता कक्ष निर्माण गरिएको बताए ।
भारतबाट फर्केका आप्रवासी र स्वास्थ्य सेवाबाट बञ्चित अन्य समूहलाई लक्षितगरी कक्ष स्थापना गरिएको सेभ द चिल्ड्रेनका सञ्चार र व्यवहार परिवर्तन व्यवस्थापक अरुण राईले जानकारी दिए ।
रु २१ लाख ५४ हजारको लागतमा कन्टेनरमा आधारित उक्त स्वास्थ्य संरचना निर्माण गरिएको हो । यसअघि सेभ द चिल्ड्रेनको ग्लोबल फण्ड कार्यक्रमले कोशी प्रदेशस्थित मोरङको रानी–जोगवनीमा स्वास्थ्य सहायता कक्ष भवन मर्मतगरी विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ  ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0