विशेष अदालतले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जनालाई कैद तथा जरिवाना सजाय सुनाएको छ ।
दोषी ठहर गरेर कैद सजाय तोक्न मङ्गलवार बसेको इजलासले मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवलाई ९ वर्ष १ महिना कैद र २ करोड ३५ लाख जरिवाना र बिगोको फैसला गरेको छ। झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवती प्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायलाई ८ वर्षका दरले कैद तोकेको हो।
मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमारलाई विशिष्ट पदमा रहेर भ्रष्टाचार गरेको भन्दै थप एक वर्ष एक महिनाको कैद सजाय ठहर भएको छ। विषालु सर्पको टोकाइमा प्रयोग हुने एन्टि स्नेक भेनम उत्पादन गर्न भनेर प्रतिष्ठानले लालबन्दी नगरपालिकासँगको सहकार्यमा एन्टि स्नेक भेनम उत्पादन तथा अनुसन्धान केन्द्र सञ्चालन गर्ने तयारी गरेको थियो।