काठमाडौ । । जल तथा मौसम विज्ञान विभागले आज असार २१ गतेदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने भएकाले सतर्कता अपनाउन आह्वान गरेको छ ।
मनसुन सक्रिय हुँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ३० जिल्ला उच्च जोखिममा रहेको संकेत स्वरुप विभागले ‘रेड जोन’मा राखेको हो । यसअघि विभागले असार १७ गतेदेखि २० गतेसम्मको अवधिमा ३४ जिल्लामा रेड अलर्ट जारी गरेको थियो । यसपटक ‘रेड जोन’मा परेका जिल्लाहरुमा गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपारी पूर्व र मुस्ताङ छन् ।
कर्णाली प्रदेशका जाजरकोट, दैलेख, रुकुम पश्चिम, कालिकोट, जुम्ला र हुम्लालाई पनि जल तथा मौसम विज्ञान विभागले रेड जोनमा राखेको छ ।
सुदूरपश्चिमका डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा जिल्ला ‘रेड जोन’मा छन् । विभागले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३४ जिल्लालाई मध्यम जोखिमको सूचीमा राखेको छ ।
मनसुन सक्रिय हुँदा भारी वर्षा हुने, बाढी–पहिरो आउने, होचा भूभाग डुबान हुने, गेग्रान बहावले सडक यातायात अवरुद्ध हुने र हवाई यातायात समेत प्रभावित हुने पूर्वानुमान विभागले गरेको छ ।
‘दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन तथा पूर्व तयारी गर्नुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,’विभागले जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ ।