काठमाडौँ । सरोकारवालाले सरकारी अस्पतालबाटै योग तथा प्राकृतिक चिकित्सा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ । असार २० अर्थात् आज राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा सरकारी स्वास्थ्य संस्थामा योग तथा प्राकृतिक चिकित्सा सेवा अहिलेसम्म उपलब्ध नभएकाप्रति सरकारको ध्यानाकर्षण गराइएको हो ।
 सरकारले विसं २०५९ असार २० गते प्राकृतिक चिकित्सालाई स्वास्थ्य सेवाको विधाअन्तर्गत राखी मान्यता प्रदान गरेको थियो । सोही दिनको सम्झनामा २०७४ साल असोज २३ गतेको निर्णयअनुसार असार २० गते राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाउन लागिएको हो । तर स्वास्थ्य सेवाका विधाअन्तर्गत मान्यता पाएको २२ वर्ष पुग्दा पनि सरकारी अस्पताल र स्वास्थ्य संस्थामा प्राकृतिक चिकित्सा सेवा उपलब्ध हुन सकेको छैन ।
प्राकृतिक चिकित्सा अभियन्ता डा हरिप्रसाद पोखरेलले प्राकृतिक चिकित्साको प्रयोगबाट रैथाने कला संस्कृति र विधि विज्ञानलाई पुनरुत्थान गरिनुपर्नेमा जोड दिए। उनले तत्काल दरबन्दी नभए पनि करार सेवाबाट जनशक्ति नियुक्ति गरेर सेवा दिनुपर्नेतर्फ उल्लेख गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानार्कषण गराए ।
“स्थायी पदपूर्ति नहुञ्जलेसम्म आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको स्वीकृत दरबन्दीमा नबढ्ने गरी हरेक चिकित्सा विधाका जनशक्तिलाई करार सेवामा नियुक्त गर्नुपर्छ”, उनले भने।
प्राकृतिक चिकित्सामा एमडी गरेका १० जना र बिएनवाइएस ७३ जना चिकित्सक छन् । तर दरबन्दी नहुँदा अधिकांश चिकित्सक विदेश पलायन भइरहेकोतर्फ योग तथा प्राकृतिक चिकित्सक डा प्रतीक्षा पाण्डेयले बताए। उनले बिरामी भएपछि मात्र होइन बिरामी हुन नदिने जीवनपद्धति अपनाउन सिकाउने चिकित्सा पद्धतिमार्फत स्वास्थ्य पर्यटन विकास गर्न सकिने सुझावसमेत प्रस्तुत गरे ।
योग तथा प्राकृतिक चिकित्साका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नेपाल आयुर्वेद चिकित्सा परिषद्अन्तर्गत उपसमिति बनाइ दर्ता गरिँदै आएकोप्रति उनीहरुले असन्तुष्टि जनाए ।
प्राकृतिक चिकित्साकाअनुसार प्रकृति र मानव अन्तरसम्बन्धद्वारा स्वास्थ्य रक्षा र रोगीको उपचार गर्ने कला, संस्कृति एवं विधिविज्ञान नै प्राकृतिक चिकित्सा हो । दिवसका अवसरमा प्रतिनिधिसभाअन्तर्गतको संसदीय समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिसमिति सभापति अम्मरबहादुर थापाले प्राकृतिक चिकित्साका क्षेत्रमा थप अनुसन्धानका लागि प्रोत्साहन गरे ।
मन्त्रालयका अतिरिक्त सचिव डा टङ्क बराकोटीले नसर्ने रोगको जोखिमलाई यस चिकित्सा पद्धतिबाट न्यूनीकरण गर्न सकिने बताए। त्यसका लागि मन्त्रालयले आवश्यक पहलकदमी लिन तयार रहेको उनको भनाइ थियो ।
वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा मनुकर्ण थापाले यस चिकित्सा विधिलाई पुनःजागरणका लागि ठोस पहल आवश्यक भएको बताए ।
नेपाल सरकारको अहिलेसम्म योग तथा प्राकृतिक चिकित्साको कुनै पनि सेवा नभए पनि निजी, गैरसरकारी र सामुदायिक क्षेत्रबाट चिकित्सालय सञ्चालनमा छन् । हाल चार वटा सामुदायिक प्राकृतिक चिकित्सालय, २६ वटा निजी योग तथा प्राकृतिक चिकित्सालय र दुई वटा योग तथा प्राकृतिक चिकित्सा क्लिनिक सञ्चालनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0