जनस्वास्थ्य कार्यालय काठमाडौंले पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाउन छुटेका बालबालिकालाई पुनः लगाउने भएको छ । गत जेठ १३ देखि २६ गतेसम्म सञ्चालन भएको पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियानका क्रममा छुटेका बालबालिकालाई पुनः खोप लगाउन थालिएको कार्यालयका प्रमुख डा।अर्जुनप्रसाद सापकोटाले जानकारी दिए ।

“काठमाडौंमा श्रम क्षेत्र र खोला किनारामा पनि कतिपय बसोबास गरिरहेका बालबालिकालाई खोप लगाउन छुटेको छ कि भन्ने हाम्रो अनुमान छ”, उनले भन्ने, “त्यस्ता खोप लगाउन छुटेका बालबालिकालाई हामीले पुनः खोप लगाउनेछाँै ।” उनका अनुसार असार मसान्तभित्र नियमित खोप कार्यक्रम सञ्चालन हुनेछ । उनले खोप केन्द्रमा ती छुटेका बालबालिकालाई प्रत्येक हप्ता खोप लगाइने बताए ।

काठमाडौँ जिल्लामा रहेका ११ स्थानीय तहमा ९७ हजार तीन सय ८० बालबालिकालाई खोप लगाउने लक्ष्य राखे पनि ९२ हजार नौ सय ९८ बालबालिकालाई पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाइएको थियो । सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई पोलियोविरुद्धको खोप ‘आइपिभी’ लगाउने लक्ष्य राखेको छ । खोप लगाउन छुटेका बालबालिकालाई पोलियो रोग लाग्ने उच्च जोखिम रहेकाले यस वर्ष सरकारले खोप अभियान सञ्चालन गर्नु परेको थियो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0