काठमाडौँ महानगरपालिकाले त्रिवी शिक्षण अस्पताल महाराजगञ्जको प्राङ्गणमा रहेको ‘पानोर्मा फार्मेसी’ लाई कारवाही गर्न औषधि व्यवस्था विभागलाई पत्र पठाएको छ।

कामपा स्वास्थ्य विभागले उक्त फार्मेसीको बारेमा गुनासो आएपछि केही दिनअघि फार्मेसीमा अनुगमन गरेको थियो, अनुगमनपछि कारबाहीका लागि विभागलाई पत्राचार गरेको हो।

विभागका निमित्त प्रमुख सजिना महर्जनका अनुसार अनुगमन टोलीले अनुगमन गर्दा सञ्चालकले म्याद गुज्रेको औषधी बिक्री गरेको स्वीकार गरेका थिए। पसलमा म्याद सकिएका औषधि भेटिएको थियो।

विभिन्न भ्याक्सिन र इन्सुलिन भण्डारण गरेर राख्ने डिप फ्रिजको तापक्रम १३ डिग्री सेन्टिग्रेट थियो। यसलाई २ देखि ८ डिग्री सेन्टिग्रेडका बिचमा कायम राख्नुपर्ने चिकित्सकहरुको भनाइ छ।

यसरी राखिएका भ्याक्सिन र इन्सुलिन प्रयोग गर्ने उपभोक्तालाई नकारात्मक असर पर्न सक्ने भएपछि अनुगमनका दिन नै फार्मेसी बन्द गरिएको थियो। यो औषधी ऐन २०३५ तथा औषधी विक्री वितरण आचारसंहिता २०८० को दफा ३ विपरीतको अवस्था रहेको महर्जनको भनाई छ।

विभागका निमित्त प्रमुख महर्जनका अनुसार कारबाहीका लागि लेखेर पठाइएको यो पहिलो पत्र हो। औषधिमा मिसावट गर्न, म्याद नाघेका औषधि बेच्न, अरु सामानलाई औषधि भनेर बिक्रि गरेमा कसैको ज्यानलाई खतरा पुग्ने सम्भावना भएमा जन्मकैद वा १० वर्षसम्म वा जरिवाना हुनेछ।

यस्तै शरीरको कुनै अङ्गको शक्ति क्षीण वा हरण हुन सक्ने भएमा १० वर्षसम्म कैद र जरिवाना तथा अन्य अवस्थामा पाँच वर्ष कैद वा दुवै जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ। यसबाहेक ऐनमा लेखिएका व्यवस्थाको पालना नगर्नेलाई एक वर्षसम्म कैद वा रु पाँच हजार जरिवाना हुने कानुनी व्यवस्था रहेको कामपाको स्वास्थ्य विभागले जनाएको छ।

कामपाले औषधि पसलहरुको नियमित अनुगमन गर्दै आएको छ। मातहतका अस्पतालहरुमा कुहीने र नकुहीने फोहर वर्गीकरणको सवालमा पनि कामपाले अनुगमन गरिरहेको छ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0