स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आइतबार आयुर्वेद चिकित्सालय नरदेवीको अनुगमन गरेका छन् । सो क्रममा उनले चिकित्सालयका विभिन्न शाखाहरू, फार्मेसी, ओपिडी, शल्यक्रिया कक्ष निरीक्षण गरे ।

त्यसपछि मन्त्री यादवले चिकित्सालयमा उपचाररत बिरामी, तिनका कुरुवा तथा कर्मचारीहरूसँग कुराकानी गरेका थिए ।

अनुगमनको क्रममा, अस्पतालका कर्मचारीहरूले जनशक्ति अभावका कारण अपेक्षित सेवा प्रवाह गर्न नसकिएको गुनासो राखेका थिए । चिकित्सालयका कार्यकारी निर्देशक डा. रामदेव यादवले दरबन्दी नथपिँदा सेवाको गुणस्तर कायम राख्न चुनौती भइरहेको बताए ।

उनले भने, ‘चिकित्सालयसँग सीमित स्रोत छ । बजेटको पनि अभावका कारण सबै सेवा हामीले सोचे अनुसार दिन सकेका छैनौँ । चिकित्सकदेखि नर्सिङ स्टाफसम्मको अभाव छ । विद्युत् जाँदा जेनरेटर नहुँदा सेवा रोक्नुपर्ने अवस्था छ ।’ त्यस्तै, डा. यादवले आवश्यक उपकरणको समेत अभाव रहेको बताएका थिए ।

छलफल पश्चात् स्वास्थ्य मन्त्री यादवले नेपालकै प्रमुख आयुर्वेदिक चिकित्सालयका रूपमा स्थापित नरदेवीलाई सबल बनाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । ‘चिकित्सालयको सेवाको गुणस्तर सुधार गर्न के चाहिएको छ, मलाई सूची बनाएर दिनुहोस् । सम्भव भएसम्म सबै प्रकारको जनशक्ति र सामग्रीको व्यवस्थापन म गर्छु,’ मन्त्री यादवले भने ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0