चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षाका लागि आवेदन फारम खुलाइएको छ । चिकित्सा शिक्षा आयोगले सूचनामार्फत अनलाइन आवेदन माग गरेको छ ।
आयोगले परीक्षाका लागि योग्यता पुगेका ईच्छुक व्यक्तिले बुधबार विहान १० बजे देखि आगामी १८ असार अपरान्ह ५ बजेसम्म अनलाइन आवेदन दिन सक्ने जनाएको छ । आयोगले १८ देखि २५ असार अपरान्ह ५ बजेसम्म दोब्बर दस्तुर तिरेर आवेदन गर्न सकिने उल्लेख गरेको छ ।
यस पटक आयोगले गत महिना कक्षा १२ को नतिजा प्रकाशन नभइकन प्रवेश परीक्षाको आवेदन खुल्ला गरेको हो । गत बैशाखमा कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले पनि आवेदन दिन सकिने आयोगले जानकारी दिएको छ । १२ कक्षामा बायोलोजीसहित विज्ञान विषय लिएर पढेका विद्यार्थीले परीक्षाको प्रवेश पत्र देखाएर आवेदन दिन सक्ने पनि आयोगले जनाएको छ ।
आयोगले एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएस्सी मिडवाइफ्री, बीएएमएस, बी फार्मा लगायतका स्नातक तहका विषयमा आवेदन दिनका लागि आवश्यक योग्यता र विषयमा ल्याउनु पर्ने आवश्यक प्राप्ताङ समेत उल्लेख गरेको छ ।
आयोगले आवेदन शुल्क नेपाली विद्यार्थीका लागि ४ हजार रुपैयाँ र विदेशी विद्यार्थीका लागि ८ हजार रुपैयाँ तोकेको छ ।यस्तै आयोगले आगामी १ भदौमा एमबीबीएस विषय देखि सुरु गरी ५ भदौमा बीपीएच विषयबाट परीक्षा सकिने उल्लेख गरेको छ ।