प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदयपुरको गाईघाटमा नै मेडिकल कलेज स्थापना गर्ने बताएका छन । मेडिकल कलेज स्थापनाको माग सहित राजधानी पुगेको त्रियुगा नगरपालिकाको प्रतिनिधि मण्डलसँग शनिवार भेटघाटको क्रममा प्रधानमन्त्री दाहालले सिंहदरबारमा उक्त कुरा बताएका हुन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले उदयपुरमा यसअघिकै मेडिकल कलेज स्थापना गर्ने निर्णय भइसकेको बताउदै त्रियुगा नगरपालिकाले प्रस्ताव गरेको स्थानमा मेडिकल कलेज स्थापना गरिने बताए ।
त्रियुगा नगरपालिकाको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहालले आगामी बजेटको तयारी रहेको बेला ध्यानाकर्षण गर्न आउनु भएकोले आगामी बजेटमा त्रियुगा नगरपालिकामा मेडिकल कलेज निर्माणको प्रक्रिया सुरु हुने स्पष्ट पारे ।
प्रधानमन्त्री दाहालले नेपाल सरकारको घोषित नीति अनुसार उदयपुरको गाईघाटमा मेडिकल कलेज स्थापना गर्न कुनै समस्या नरहेको पनि बताए । सो अवसरमा त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्त कुमार बस्नेतले गाईघाटमा मेडिकल कलेज स्थापनाका लागि त्रियुगा नगरपालिका वडा नं। ४ स्थित फछौट क्षेत्रमा ६३ बिगाहा जग्गाको व्यवस्थापन गरी मेडिकलका नाममा ल्याउन प्रक्रिया सुरु गरिसकिएको प्रधानमन्त्रीलाई जानकारी गराए।
यसैबिच उक्त सर्वपक्षीय सर्वदलीय प्रतिनिधि मण्डलको टोली नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिवार भेट गरी मेडिकल कलेज उदयपुरको गाईघाटमा स्थापना गर्न आवश्यक पहल गर्न आग्रह गरेको छ ।
प्रतिनिधिमण्डल सँगको भेटमा अध्यक्ष ओलीले जनघनत्व, सदरमुकाम र जग्गा व्यवस्थापनको आधारमा गाईघाटमा नै मेडिकल कलेज स्थापना गर्न उपर्युक्त रहेको बताए।
मेडिकल कलेज गाईघाटमा नै स्थापना गर्नु पर्ने माग सहित पुगेको टोलीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मेडिकल कलेज स्थापना गर्दा धेरै कुरा अध्ययन गरेर निर्णय गरिने भएकाले उदयपुरमा त्रियुगा नगरपालिकाको विकल्प नरहेको बताए ।
त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले गाईघाटमा मेडिकल कलेज निर्माणको काम यस वर्षको बजेटमा समावेश गरेर अघि बढाउनको लागि अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।
संविधान सभा सदस्य तथा एमाले पोलिटब्युरो सदस्य मञ्जु कुमारी चौधरी, नेपाली काँग्रेसका नेता विदुर बस्नेत, एमाले उदयपुरका अध्यक्ष भागवत राउत, कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार, त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राई, कोशी प्रदेश सांसद सम्झना तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी उदयपुरका सभापति चित्र बहादुर कार्की, त्रियुगा नगरपालिकाका विभिन्न वडा अध्यक्ष सहितको टोलीले शिक्षा मन्त्री सुमना श्रेष्ठ, पूर्व शिक्षा मन्त्री अशोक कुमार राई, शिक्षा सचिव दीपक पाण्डेलाई भेटेर ध्यानाकर्षण गराएको छ ।