तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलायसिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले एक करोड ११ लाख ६८ हजार पाँच सय रुपैयाँ सहयोग गरेको छ ।
लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी (एलसिआइएफ) ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलायसिस सेन्टर स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो ।
जिल्लाकै ठूलो उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालनका लागि लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ म्याग्दे र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले पहल थालेका थिए ।
जिल्लामा दमौली अस्पतालमा मात्रै डायलायसिस सेन्टर रहेको र मिर्गौला पीडितलाई सास्ती भइरहेकाले क्लबले अस्पतालमा डायलायसिस सेन्टर स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो ।
मिर्गौला पीडित बिरामीका लागि आवश्यक उपचार गर्न अस्पतालमा ६ थान मेसिन राख्ने तयारी गरिएको हिराचनले बताए ।
दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्वर्गीय गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ ।