चतरा अस्पतालले दीर्घ रोगको सेवा विस्तार गरेको छ । चतरा अस्पताल र केएचडिसि नेपालको सहकार्यमा नसर्ने रोगलाई लक्षित गरेर सुगर, प्रेसर, मुटु, किड्नी, दम लगायतका दीर्घ रोग सम्वन्धी छुट्टै क्लिनिक सेवाको सुरुवात गरेको हो ।
वराहक्षेत्र नगरपालिकाको वडा नम्वर २ चतरामा रहेको चतरा अस्पताल र केएचडिसि नेपालको सहकार्यमा अस्पतालले दीर्घ रोगहरु सुगर, प्रेसर, मुटु, किड्नी र दम रोग सम्बन्धी क्लिनिक सेवाको विस्तार गरेको छ । दीर्घ रोगका सम्बन्धि उपचार सेवाको उद्घाटन वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले गरेका थिए । नगरवासीहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउन र कुनै पनि नगरबासी नागरिकले रोग लुकाएर बस्नु नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य संस्थाको विकास गर्न स्थानीय सरकार लागि परेको उनले बताए ।
केएचडिसि नेपाल र चतरा अस्पतालको सहकार्यमा सञ्चालित भएको क्लिकमा बिरामीको उपचार गर्न सुरु गरिएको छ । अस्पतालमा सेवा लिन आउने बिरामीहरुमध्ये सबैभन्दा बढी बिरामीहरु नसर्ने दीर्घ रोगीहरु भएकाले नसर्ने रोग उपचारको लागि क्लिनिकको सेवा सुरु गरिएको अस्पतालका प्रवक्ता यम भण्डारीले जानकारी दिए। नसर्ने रोग क्लिनिक सञ्चालको लागि केएचडिसि नेपालले एक जना चिकित्सक लाई नियुक्त गरेको छ ।
क्लिनिक उद्घाटन कार्यक्रममा केएचडिसि नेपालका संरक्षक समेत रहनु भएका प्राध्यापक डाक्टर संजीव शर्माले जचाऔं, मृगौला मुटु बचाऔं भन्ने नारासहित चतरा अस्पतालमा नर्सने रोग सम्बन्धी क्लिनिक सुरु गरिएको बताए ।
चतरा अस्पताले २४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्सरे, प्रसुति, फिजोयोथेरापी सेवा, एम्बुलेन्स, हरेक दिन आँखा, कान, दन्त उपचार, हरेक सोमबार र बिहीबार भिडियो एक्सरे, हरेक दिन स्त्री तथा प्रसूती , सेवाहरू सञ्चालन गदै आएको अस्पतालका निमित्त कार्यालय प्रमुख योगेन्द्र कट्टेलले जानकारी दिए ।
२०७८ सालमानै देश कै पहिलो पूर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणा गराउँन सफल चतरा अस्पतालले अस्पतालबाट दिइने सेवालाई बढाउँदै लगेको चतरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नम्वर २ का वडा अध्यक्ष होमप्रसाद गौतमले जानकारी दिए ।
अस्पतालले नगरबासीको सहजतालाई मध्यनजर गर्दै सार्वजनिक बिदाको दिन र शनिवार बिहान ७ बजेदेखि बेलुकी ८ बजे सम्म अस्पतालका चिकित्सकद्वारा निःशुल्क बहिरङ्ग सेवा र २४ घण्टा आकस्मिक सेवा दिँदै आएको छ ।