सुर्खेत । जिल्ला अस्पताल डोल्पाको लागि आधुनिक भवन निर्माण भएको छ । २३ करोड लागतमा उक्त भवन निर्धारित समयमा निर्माण भएको हो ।
बिहीबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले अस्पतालको उद्घाटन गरेसँगै आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ । अस्पतालले २५ शश्यामा सेवा विस्तार गर्ने लक्ष्य राखे पनि हाल १५ शय्याको सेवा दिइरहेको छ ।
चालु आवमै प्रदेश सरकारले जिल्ला अस्पताललाई भौतिक पूर्वाधार तथा उपकरण व्यवस्थापन गरी १५ शय्याबाट २५ शय्यामा स्तरोन्नती गर्ने लक्ष्य लिएको थियो । सोही लक्ष्यअनुसार भवन निर्माण भएको मन्त्री शाहीले जानकारी दिए । नयाँ भवन निर्माणसँगै अस्पतालमा आन्तरिक व्यवस्थापनका काम हुने र त्यसमा मन्त्रालयको पूर्ण सहयोग रहने मन्त्री शाहीले बताए ।
अहिले अस्पताल जान र आउन भेरी नदी माथी पुल नहुँदा समस्या छ । समस्या समाधानका लागि उक्त पुल निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ पोखरेलले अस्पतालका लागि प्रदेशले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा उपचारमा समस्या हुने गरेको डा अखण्ड उपाध्यायले जानकारी दिए ।
डोल्पाका बिरामीलाई अहिले हवाई मार्गबाट उद्धार गरेर बाहिर उपचारका लागि लाने गरिएको छ । सामान्य खालका बिरामी जिल्ला अस्पतालमा उपचार भए पनि जटिल समस्या भएकालाई जुफाल विमानस्थलबाट जहाजमार्फत सुर्खेत, नेपालगञ्ज लाने गरिएको छ । ७० प्रतिशतभन्दा बढी करारका स्वास्थ्यकर्मीबाट अस्पतालमा उपचार सेवा सञ्चालन गरिएको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1