बैतडी । जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन्। अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले बुधबार विज्ञप्ति जारी गर्दै अतिरिक्त समय र सार्वजनिक बिदाको दिन गरेको कामको अतिरिक्त भत्ता नपाएकाले आन्दोलनमा उत्रिनुपरेको बताएका हुन् ।
चालु आर्थिक बर्षमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अतिरिक्त भत्ता, जोखिम भत्ता लगायतका सुविधाहरु नपाएको र बेलाबेलामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनुपरेको अस्पतालमा कार्यरत डा सुरज नेपालीले बताए।
अस्पतालको प्रयोगशाला विभागका प्रमुख चन्द्रसिंह डोबालले अतिरिक्त भत्ता र जोखिम भत्ताका बिषयमा सबै निकाय र सामाजिक विकास मन्त्रालयको समेत ध्यानाकर्षण गराइसकेको तर कुनै सुनुवाई नभएको बताए।
नेपालीका अनुसार प्रयोगशाला विभागमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने जोखिम भत्ता पाएका छैनन्। ९ जना डाक्टरसहित अन्य विभागमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले समेत अहिलेसम्म अतिरिक्त भत्ता र जोखिम भत्ता नआएको उनको भनाइ छ।