झापास्थित गौरीगन्ज आधारभूत अस्पतालले अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ । ठुलो सङ्ख्यामा आएका आक्रोशित समूहले अस्पताल तोडफोड गरेपछि अस्पतालले अनिश्चितकालका लागि अस्पताल सबै सेवा बन्द भएको हो । बिहीबार झाडापखला लागेर आएका एक बिरामीको यहाँ उपचार हुन नसकेपछि अस्पतालले अन्यत्र उपचार गर्न रेफर गरेको थियो ।

स्थानीय ११ वर्षीय बालक उमेश महतोको उपचारको क्रममा दमक ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएपछि बिरामीका आफन्तले शवसहित अस्पताल नै पुगेर प्रदर्शन गर्दै अस्पताल तोडफोड गरेका थिए । दिनभर अस्पताल तनावग्रस्त बनेपछि अस्पतालका सबै सेवा अवरुद्ध बनेको जनाइएको छ ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष बद्रीनारायण यादवका अनुसार अस्पतालको सर्वर तथा अन्य भौतिक संरचनाहरुमा क्षति पुगेकाले अर्को निर्णय नभएसम्मका लागि अस्पतालका सबै सेवा बन्द गरिएको हो । तत्कालै सेवा प्रवाह गर्नसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । अस्पतालमा धेरै नै क्षति पुगेको जनाइएको छ ।

समयमा रेफर नगर्दा र अस्पतालका स्वास्थ्यकर्मीहरुको लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै आफन्तहरुले आक्रोश जनाएपछि मृतकका आफन्त र अस्पताल प्रशासन तथा व्यवस्थापन समितिबिच छलफल भएको थियो । लापरवाही गर्ने स्वास्थ्यकर्मीहरुलाई निलम्बन गर्ने गाउँपालिका अध्यक्ष फुलवती राजवंशीसहितको उपस्थितिमा निर्णय भएपछि घटना साम्य भएको बताइन्छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0