काठमाडौँ- उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ बैठकमा भाग लिन पुगेकामन्त्री यादवले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिोनियो गुटेरेससँग आज भएको भेटवार्तामा जलवायु परिवर्तन र विश्वमा बढ्दो द्वन्द्वका कारण नेपालले दिगो विकासका लक्ष्यहरूका साथै स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि जोगाइराख्न चुनौतीपूर्ण भएकाले राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास सहायता अपरिहार्य भएकामा जोड दिएका हुन्।
नेपालले गरिबी निवारण, स्वास्थ्य सेवाको विकास, प्रजनन दर र मातृ मृत्युदर घटाउनेलगायत जनस्वास्थ्यका क्षेत्रमा प्रगति गरेको जानकारी दिँदै भूवरिवेष्टित एवं अतिकमविकसित राष्ट्र नेपाललाई विकासका निम्ति बाह्य सहायता आवश्यक भएको उपप्रधानमन्त्री यादवले बताए।