गुल्मीदरबार गाउँपालिकामा सञ्चालन भएको एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविरमा तीन सयभन्दा बढीले सेवा लिएका छन् ।
गुल्मी चालपाला रुपन्देही सम्पर्क समाजको आयोजना, गुल्मीदरबार गाउँपालिकाको समन्वय एवम् साझा हस्पिटल प्रालिको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ३२६ जनाले सेवा लिएका हुन् ।
चारपाला दरबारमा आज बिहीबार सञ्चालन भएको एक दिने शिविरमा २३० जना महिला र ९६ जना पुरुषले बिशेषज्ञ सेवा लिनुभएको गुल्मीदरबार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले जानकारी दिए । शिविरमा महिला रोग बिशेषज्ञ सेवा, हाडजोर्नी तथा नशारोग बिशेषज्ञ सेवा, फेमिली फिजिसियन सेवा र सुगर परीक्षण निदान गरिएका रोगको निःशुल्क औषधी वितरण गुल्मी चालपाला रुपन्देही सम्पर्क समाजका अध्यक्ष उषा खत्रीले बताए।
शिविरमा डा. प्रदीपकुमार श्रीवास्तव, लक्ष्मण शर्मा, जीवन थापा, संगीता पाण्डे, प्रवेश्वर घिमिरे, कृष्ण खनाल, नियम मुसलमान र डा. विकास अर्यालले विशेषज्ञ सेवा प्रदान गरे । यसरी गाउँमै विशेषज्ञ लिन पाउँदा यहाँका नागरिकहरु खुशी भएका छन् ।
त्यस अवसरमा गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा गुल्मी चालपाला रुपन्देही सम्पर्क समाजले गरेको कामलाई निरन्तरता दिन आग्रह गर्नुहुँदै निःशुल्क स्वास्थ्य शिविरले ग्रामीण भेगका थुप्रै नागरिक लाभान्वित भएको बताए ।
निःशुल्क बृहत स्वास्थ्य परीक्षण शिविरमा चारपाला स्थायी घर भई हाल गुल्मी तम्घासमा बस्ने कर्णबहादुर रायमाझीले ५० हजार, हाल युकेमा रहनुभएका चारपालाका लेखराज ज्ञवालीले ११ हजार, हाल रुपन्देहीमा रहनुभएका खिमप्रसाद अर्यालले १० हजार र स्व। प्रेमबहादुर खत्रीको स्मृतिमा छोरा बिरबहादुर खत्रीले ११ हजार र विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरे ।