काठमाडौं । वैशाख १६ गतेदेखि सात वटा जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने सरकारले तयारी गरेको छ। नेपालमा विगतमा ६० जिल्लामा हात्तिपाइले रोगको जोखिम थियो। सरकारले सन् २००३ देखि आम औषधि वितरण कार्यक्रम सुरु गरेसँगै जोखिम कम हुँदै गएको हो।
५३ वटा जिल्लामा औषधि वितरण कार्यक्रम बन्द भइसकेको छ। हात्तिपाइले रोग विरुद्धको औषधि दुई वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घकालीन रोगी, एक हप्ता नपुगेका सुत्केरी र खाली पेटमा सेवन गर्न हुँदैन। वैशाखमा सात वटा जिल्लाका ५० लाख ७८ हजार जनालाई औषधि खुवाउने लक्ष्य लिइएको छ। यसका लागि ६ हजार स्वास्थ्यकर्मी र ५ हजार ८ सय स्वंसेविका परिचालन हुनेछन्।
हात्तिपाइले रोग विरुद्ध प्रयोग भइरहेका औषधिहरु डाइथाइलकार्बामाजिन १०० एमजी र ४०० एमजीको अल्बेन्डाजोल औषधि खुवाइने छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले हात्तिपाइले रोग निवारणका लागि जोखिम समूहमा रहेका सात जिल्लामा औषधि खुवाउने कार्यक्रम सञ्चालन हुन लागेको बताए ।
डा.मरासिनीका अनुसार झापा धनुषा महोत्तरी सर्लाही रौतहट रसुवा र कपिलवस्तु जिल्लामा आम औषधि सेवन कार्यक्रम चल्ने छ। यी जिल्लामा यो वर्ष औषधि खुवाइसकेपछि पुन अध्ययन हुने र उक्त अध्ययनमा सकारात्मक नतिजा देखिए औषधि खुवाउने कार्यक्रम यसपटकको नै अन्तिम हुने उनले जानकारी दिए।
नेपालले सन् २०२० मा नै हात्तिपाइले निवारण गरिसक्ने लक्ष्य लिएको थियो।तर लक्ष्य अनुसार उपलब्धि हासिल हुन नसकेपछि सन् २०३० भित्र निवारण गर्ने भनेर नयाँ लक्ष्य लिइएको छ।