चैनपुर । बाउन्न वर्षीया दूधकला सार्कीले आफ्नो जीवनको अध्याय नै समाप्त हुन लागेको ठान्नुभएको थियो । यद्यपि उनलाई ‘समयमा उपचार नभए बाँचुञ्जेल नछोड्ने’ रोगले आफूलाई सताएको जानकारी थियो । उनी दशकभन्दा लामो समयदेखि आङ खस्ने समस्याबाट पीडित छिन ।

रोग र गरिबीसँग लड्दै आएकी दूधकलाको परिवारमा दैनिक जीवनयापनका निम्ति अन्नको जोहो नै चुनौतीको पहाड थियो भने उपचार कोरा कल्पनामात्र । सुरुमा रोगको बेवास्ता गरेकी उनले स्वास्थ्यमा जटिल समस्या भएपछि स्त्रीरोग विशषेज्ञ डा कविता साहसँग सम्पर्क गरिन् । आङ खस्ने समस्याले पीडित उनले यसअघि पुरुष चिकित्सकलाई आफ्नो समस्या सुनाउन नसकेर ज्यान नै जोखिममा परेको थियो ।

रोगको निदानका निम्ति पटक–पटक जिल्ला अस्पताल पुग्ने तर पुरुष चिकित्सकलाई सोध्न नसकेर फर्कँदा रोगले च्याप्दै गएको थियो । “धेरै पटक अस्पताल आएँ तर, आफ्नो समस्या डाक्टरलाई सुनाउन नसकेर फिर्ता भए”, उनले भनिन्, “पुरूषै पुरूष भएपछि निकै अप्ठेरो लाग्ने रहेछ । महिला डाक्टरसँग पनि बल्ल समस्या राख्न सकेँ ।”

जयपृथ्वी नगरपालिका–९ की दूधकलाको पाठेघर र मूत्रथैलीमा समस्या थियो । गत साता डा साहको टिमले शल्यक्रिया गरेर रोग निर्मूल पारेपछि भने सार्कीले पुनर्जीवन पाएको बताइन । उनले भनिन्, “दश वर्षदेखिको समस्याले अब बाँचुञ्जेल छोड्दैन कि भन्ने लागेको थियो । खुसीको कुरा, भगवान् नै फेला परेजस्तो भयो ।” लामो समयदेखि हिँड्न, बस्न र पिसाब गर्दा हुने समस्या अहिले समाधान भएको उनले बताईन् । उनले भनिन् , “मेरो समस्या सुनेर घरपरिवारमात्रै होइन, आफन्तसमेत हैरान भएका थिए । अहिले भने बिराम काटिएको भन्दै सबैको मुहारमा उज्यालो छाएको छ ।”

दूधकलाको जस्तै रोग लुकाएर बसेकी केदारस्यूँकी सुनिता विकको पनि गत महिना शल्यक्रिया गरिएको थियो । तल्लो पेट दुख्ने, महिनाबारी गडबडी हुने, महिनाबारी हुँदा रगत धेरै बग्नेलगायत समस्याबाट ग्रसित उनको शल्यक्रिया गरेपछि उनको पनि समस्या हल भयो ।

जिल्लामा अधिकांश महिलाले आफ्नो रोग लुकाएर बसेको डा साहको बुझाइ छ । “महिलाले आफ्नो समस्या नखोलेरै कतिपयको ज्यान पनि गइसकेको पनि हुनसक्छ । सदरमुकाममा बस्ने महिला नै आफ्नो समस्या लुकाएका देखिए भने गाउँघरमा कति होलान् १” उनले भनिन् ।

डा साहका अनुसार अस्पतालमा आउने महिलाले महिलासँगै मात्रै आफ्नो समस्या सुनाउने रहेछन् । “म आएको दुई महिना हुन लाग्यो । दिदीबहिनीहरू मसँग समेत आफ्नो समस्या सुनाउन अप्ठेरो मान्नुहुन्छ । पुरुषको त झनै नजरमै पर्न चाहनुहुन्न ।” यसरी नै धेरै महिलाले रोग पालेको हुनसक्ने उनको अनुमान छ ।

दुई महिनाको बीचमा डा साह आएदेखि दुईजना महिलाको सफल शल्यक्रिया भइसकेको छ । “म आएदेखि दुई जनाको शल्यक्रिया सफल भयो । एक जनाको अर्को साता गर्ने तयारी छ”, उनले भनिन् ।

डा साह गाउँघरमा चेतनाको अभावमा महिलाले रोग पालेका बताउँछिन् । “जिल्ला अस्पतालमा आउने ८० प्रतिशत महिलाले आफ्नो समस्या कसैलाई नसुनाएका देखियो । आफ्नो समस्या कसैलाई सुनाउँदा बेइज्जत हुने डरले कसैलाई नभन्ने रहेछन् । आजभोलि भने महिला स्वास्थ्यकर्मीसँग खुल्ने भएका छन् ।”

डा साह बझाङ आएपछि भने बिरामीहरूले केही आशा पलाएको छ । आफ्नो समस्या सुन्ने र समाधान गरिदिने भन्दै बिरामी महिलाहरू तथा उनीहरुका आफन्तहरूले प्रशंसा गर्ने गरेको अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा धिरज विशङ्खले बताए । उनले भने “महिलाको शल्यक्रिया निकै जटिल प्रकृतिको भए पनि अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीको टोलीले सफल पारेको उहाँले सुनाउनुभयो ।” उनका अनुसार जिल्लामा नै पाठेघर र मूत्रथैलीको शल्यक्रिया पहिलोपटक भएको हो । जुनसुकै शल्यक्रियाका लागि अन्यत्र सिफारिस गर्नुपर्ने अवस्था रहेको जिल्ला अस्पतालमा अब शल्यक्रिया सेवा प्राप्त हुन बझाङबासीकै लागि खुसीको कुरा भएको उनले बताए।

डा विशङ्खका अनुसार जिल्लामा यसअगाडि महिला विशेषज्ञ डाक्टर आए पनि पाठेघरसम्बन्धी शल्यक्रिया हुन सकेको थिएन । डा साह आइसकेपछि भने दुईवटाको शल्यक्रिया भइसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0