काठमाडौँ । क्षयरोग दिवसका अवसरमा आज भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत अहिले एक सय २५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिए ।

अभियान क्रमशः सात सय ५३ वटै स्थानीय तहमा लागू गरिने उनको भनाइ छ । उनका अनुसार गत आर्थिक वर्षमा २५ वटा स्थानीय तहबाट सुरु गरिएको सो अभियान चालु आवमा थप एक सय स्थानीय तहमा सुरु गरिएको हो ।

निर्देशक श्रेष्ठ समुदायको सक्रियतामा सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने र क्षयरोगको निदान उपचारमा लाग्ने आर्थिक व्ययभारलाई शून्यमा झार्ने लक्ष्य लिएको बताए।
सरकराले सन् २०३५ सम्म क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ । हाल प्रति एक लाखमा दुई २९ जना क्षयरोगी छन् । निर्देशक डा श्रेष्ठका अनुसार आव २०७९÷८० मा नेपालमा ७० हजार नयाँ क्षयरोगका बिरामी थपिएको र करिब १८ हजारको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

नयाँ बिरामीमध्ये ३७ हजार चार सय ४७ जना मात्र उपचारमा आएको उनको भनाइ छ । तीमध्ये तीन हजार छ सय ५८ बालबालिका उपचाररत छन् ।

क्षयरोगका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोका बिरामी र २८ प्रतिशत अन्य अङ्गका बिरामी हुने गरेका छन् । अन्य अङ्ग फोक्सोको पानी, हड्डी र दिमागमा पनि क्षयरोग लाग्ने गरेको उनले बताए ।

विश्वमा औषधि प्रतिरोधी क्षयरोगको उच्च भार भएका ३० देशमध्ये नेपाल पनि छ । आव २०७९÷८० मा दुई हजार नौ सय जनामा औषधि प्रतिरोधि क्षयरोग विकास हुने अनुमान गरिएकोमा छ सय ९३ बिरामी मात्र निदान गरिएको र पाँच सय ४६ बिरामीको उपचारको दायरामा आएको कार्यकारी निर्देशक डा श्रेष्ठले बताए। औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचार सफलता ८२ प्रतिशत रहेको उनले बताए ।

क्षयरोगका ६८ प्रतिशत विरामी मधेस, बागमती र लुम्बिनी प्रदेशका रहेका छन् । क्षयरोगको मृत्युको दर तीन प्रतिशत छ । क्षयरोग माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो । एक जनाबाट १० जनासम्म क्षयरोग सर्न सक्दछ । फोक्सोमा क्षयरोग लागेमा सर्ने र अन्य अङ्गमा लागेमा नसर्ने निर्देशक श्रेष्ठले बताए ।

क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ । क्षयरोगबाट ७२ प्रतिशत फोक्सोलाई सङ्क्रमण गर्छ । यस्तै मुटुको बाहिरी झिल्ली, मासु, जोर्नी, मस्तिष्कमा पनि क्षयरोगले असर गर्दछ ।

केन्द्रका निर्देशक डा श्रेष्ठले क्षयरोगका बिरामीले कम्तीमा ६ देखि बढीमा १२ महिनासम्म चिकित्सकको निगरानीमा बसेर औषधि सेवन गरेमा ९० प्रतिशत रोग निको हुने बताउए । उनका अनुसार क्षयरोगको जोखिम १५ देखि ४४ वर्ष उमेर समूहका छन् । पछिल्लो वर्षमा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ ।

केन्द्रले छिटो र छरितो तरिकाले रोग पहिचान गर्न १५ केन्द्रबाट एक सय १३ स्वास्थ्य संस्थाबाट एक सय ३१ वटा मेसिन जडान गरी रोगी पत्ता लगाउने गरेको उहाँको भनाइ छ । हाल नेपालभर छ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोगविरुद्धको औषधि निःशुल्क उपलब्ध छन् ।

कुपोषण भएका, धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस क्षयरोगको उच्च जोखिम पर्ने गर्दछन ।

तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन् ।
यही चैत ११ गते ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0