ताप्लेजुङ । ताप्लेजुङमा मोतिबिन्दु भएकाहरुको आँखाको शल्यक्रिया गरिएको छ । जिल्लाको सिरिजङ्घा गाउँपालिकामा सञ्चालित निःशुल्क शिविरमार्फत मोतिबिन्दु भएका रोगीहरुको आँखाको शल्यक्रिया गरिएको हो ।
सिरिजङ्घा गाउँपालिकाका सूचना अधिकारी एवम् स्वास्थ्य शाखा संयोजक सञ्जीव सिंहका अनुसार ७५ जना मोतिबिन्दु भएका ८६ जना रोगीको आँखाको शल्यक्रिया गरिएको छ । शिविरमार्फत मोतिबिन्दु भएका बाहेक टेरिजम अर्थात् आँखामा मासु पलाएर समस्या भएका १० जना र इन्ट्रोपिन समस्या भएका एकजनाको आँखाको शल्यक्रिया गरिएको सिंहले जानकारी दिए ।
गाउँपालिकाको प्रशासकीय केन्द्र तेल्लोकस्थित तेल्लोक प्राथमिक स्वास्थ्य केन्द्रमा गएको आइतबारदेखि शिविर सञ्चालन गरिएको थियो । मेची आँखा अस्पताल बिर्तामोड झापाको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा सेवाग्राहीलाई शल्यक्रियासहितको सेवा प्रदान भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीले बताए ।
त्यस्तै यसअघि प्रत्येक वडामा सञ्चालित एकीकृत घुम्ती शिविरमा गाउँपालिकाले व्यक्तिगत घटना दर्तासम्बन्धी सेवा, बैंक खाता सञ्चालनसम्बन्धी सेवा, व्यवसाय दर्ता तथा नवीकरणका सेवा प्रदान गरेको थियो । यसैगरी गाउँपालिका तथा वडाबाट सञ्चालन भएका योजनाको प्राविधिक मूल्याङ्कन, सम्झौता र अनुगमनजस्ता सेवा प्रवाह भएका थिए । शिविर मङ्गलबार सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष डा। चित्रकुमार माबोले जानकारी दिए ।