गुल्मी अस्पताल न्यूनतम सेवा मापदण्डमा लुम्बिनी प्रदेशमा तेस्रो भएको छ । स्वास्थ्य निर्देशनालय भालुवाङ दाङबाट आउनुभएकी न्यूनतम सेवा मापदण्ड (एमएसएस) टोलीका संयोजक एवम् अस्पताल नर्सिङ प्रशासक प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठले ९१ प्रतिशत अङ्क हासिल गरी लुम्बिनी प्रदेशमै तेस्रो भएको घोषणा गरीन।

न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनमा ९१ प्रतिशत अङ्क ल्याएर लुम्बिनी प्रदेशका १२ जिल्लाका अस्पताल मध्ये गुल्मी अस्पताल तेस्रो भएको उनले बताईन । मङ्गलबार तम्घासमा आयोजना गरिएको न्यूनतम सेवा मापदण्डको नतिजा सार्वजनिक गर्दै श्रेष्ठले अस्पतालले प्रवाह गर्ने सेवाको स्तर, आर्थिक पारदर्शिता तथा सुशासन, नियमित रिपोर्टिङ लगायत ७२१ सूचकहरूलाई मूल्याङ्कन गरिएको बताइन।

अस्पतालको स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड अनुगमन मूल्याङ्कन गर्दा विगतमा भन्दा थप उपलब्धि पाएको बताइन। गत वर्षको मूल्याङ्कनमा गुल्मी अस्पताल ८९ प्रतिशत अङ्क ल्याएर लुम्बिनी प्रदेशमा तेस्रो भएको थियो । तर यस वर्ष अङ्क वृद्धि गरी ९१ प्रतिशत ल्याएको हो । गुल्मी अस्पताललाई रेसुङ्गा नगरपालिकाले गरेको सहयोग महत्त्वपूर्ण कार्य भएको भन्दै नगरप्रमुख खिलध्वज पन्थीले अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन लगायतका क्षेत्रका लागि खेलेको भूमिकाको श्रेष्ठले प्रशंसा गर्नुभयो । भौतिक पूर्वाधारको अभावमा पनि अस्पतालले राम्रो सेवा प्रवाह गरिरहेको उनको भनाइ छ ।

अस्पताललाई थप स्तरवृद्धि गरी १०० सय बेडको अस्पताल बनाउनुपर्ने बताउँदै गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।किशोर बन्जाडेले यो उपलब्धि प्राप्त गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले हाल निर्माण भइरहेको अस्पताल भवन समयमै सम्पन्न गरी अस्पतालको सेवालाई थप व्यवस्थित गराउन सकिने भन्दै अस्पताल भवन समयमै सम्पन्न गर्न सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेको बताए । गुल्मी अस्पतालमा हाडजोर्नी, गाइनोलोजिष्ट, हेमो डायलिसिस सेवा लगायतका विशेषज्ञ चिकित्सकसहितका सेवा विस्तार गरिएको बताउए।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0