काठमाडौं । नेपाल मेडिसिटी अस्पतालमा पछिल्लो एक वर्षमा २३ जना बिरामीको मृगौला प्रत्यारोपण गरिसकेको छ । अस्पतालले २०७९ माघबाट मृगौला प्रत्यारोपण सेवा सुरु गरेको थियो । जसमा १७ वर्षको युवा देखि ६५ वर्षका बृद्धको सफल रुपमा प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । मृगौला दान गर्नेमा महिला बढि रहेका छन् । दान गर्नेमा १६ जना महिला र ७ जना पुरुष रहेका छन् भने मृगौला ग्रहण गर्नेमा १६ जना पुरुष र ७ जना महिला रहेका छन् ।
प्रत्यारोपण गर्न सरकारले पाँच लाखसम्मको उपचार खर्च प्रदान गर्ने गरेको छ । विभिन्न उपचार खर्च जोड्दा बिरामीकोे कूल खर्च ७ देखि ८ लाख पर्दछ । तर निकै लामो समयसम्म कुर्नुपर्ने अवस्था रहिआएको छ ।
अस्पतालमा प्रत्यारोपण गर्न आएका अधिकाशं बिरामीहरुको मृगौला बिग्रनुको प्रमुख कारण उच्च रक्तचाप र मधुमेह रहेको (नेफ्रोलोजी) मृगौला प्रत्यारोपण विभागका प्रमुख डा. प्रकाश पौडेलले बताए ।
“२३ जनामा अधिकाशं उच्च रक्तचाप र मधुमेहकै कारण मृगौला बिग्रेर उपचारका लागि आएका थिए । अर्को कारण भनेको ग्लोमेरुलो नेफ्राइटीस्, शरीरमा प्रोटिनको मात्रा बढि भएर लिकेज हुन थालेपछि मृगौला बिग्रेर जान्छ,” डा पौडेलले भने ।
यति मात्र नभई प्रत्यारोपणका लागि विदेशबाट काम गरेर फर्केका व्यक्तिहरुको संख्या पनि बढेको छ । विशेषगरी खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा यो समस्या देखिएको छ । ५ जना मृगौला प्रत्यारोपण भएका व्यक्तिहरु कतार, दुवईबाट फर्केर उपचारका लागि आएका छन् ।
निकै गर्मीमा काम गर्ने तथा पानीको कमीका कारण खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा मृगौलाको समस्या बढि देखिएको डा पौडेलले बताए ।
त्यसैगरी, नेपाल मेडिसिटी अस्पतालमा प्रत्यारोपण देखि सम्पूर्ण उपचार खर्च १५ लाखसम्ममा हुने मृगौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले बताए ।
“यहाँ ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ, जसका कारण मृगौला दाता तथा ग्रहणकर्तालाई दुखाई पनि कम हुन्छ भने बिरामी चाँडै निको भएर घर जान पाउँछन्,” डा. काफ्लेले भने ।
मृगौला दाता ३ देखि ४ दिनमा र ग्रहणकर्ता ६ देखि ७ दिनमा डिस्चार्ज हुने गरेका छन् ।
मृगौला प्रत्यारोपण गर्नु अगाडी धेरै थरीका टेस्ट गर्नुपर्ने हुन्छ । एउटै परिवारमा पनि मृगौला दिन नमिल्ने हुन सक्छ । त्यसैले अस्पतालमा पिएर किड्नी एक्सचेन्जको पनि सुविधा रहेको छ । हालसम्म १५० भन्दा बढि बिरामीहरु प्रत्यारोपणका लागि अस्पताल आएका मध्ये मात्र २३ जनाको सफल प्रत्यारोपण गरिएको हो भने ९ जना प्रत्यारोपणका लागि कुरिरहेका छन् ।
दुबै मृगौला खराब भइसकेपछि गरिने डायलासिस पनि जिन्दगीभर गनुपर्ने हुन्छ र यसको उपयुक्त उपचार भनेकै मृगौला प्रत्यारोपणलाई मानिन्छ । तर प्रत्यारोपण गर्न बिरामीको घर जमिन बिक्री त हुन्छ नै तर समयमै प्रत्यारोपण गर्न अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था रहन्छ ।
बुटवल, पोखरा, काठमाडौं, रामेछाप, इलाम, दाङ, अर्घाखाँची, हेटौडा जस्ता ठाउँहरुबाट प्रत्यारोपणका लागि अस्पतालमा आउने गरेका छन् ।