बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल शिशु तथा मातृ स्वास्थ्य कार्यक्रमका लागि सहयोग बढाउन विदेशी सहयोगी संस्था तथा दातृ निकायहरूले चासो बढाएका छन् । पछिल्लो समय अस्पतालमा मातृ तथा शिशु स्वास्थ्य र पोषण सुरक्षणको क्षेत्रमा अस्पतालले गरेका गतिविधिलाई मूल्याङ्कन गर्दै उनीहरूले थप सहयोगको प्रतिबद्धता गरेका हुन् ।

नेपालका लागि बेलायती राजदूत कार्यालयका प्रतिनिधि पिप्पा वर्ड, विश्व बैङ्कका प्रतिनिधि फरिस हेडेड जेरोस, स्विस डेभलप्मेन्ट कोअप्रेशनका प्रतिनिधि डेनिल म्याली, एसिया विकास बैङ्कका प्रतिनिधि लगायतले अस्पतालको निरीक्षणपछि आफूहरू सहयोग बढाउन इच्छुक रहेको बताए।

अस्पतालमा रहेको प्रसूति कक्ष, मेटामेटिक, लेवर वार्ड, एनआईसीयू, एसएनसीयू, पोषण पुनः स्थापना केन्द्र, ओसिएमसी कक्ष लगायतको निरीक्षणपछि उनीहरूले प्रशंसा व्यक्त गर्दै सहयोगको हात बढाउन आफूहरू सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन ।

विशेष गरी शिशुको पोषण तथा मातृ मृत्युदरलाई कम गर्नका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने सवालमा हातेमालो गर्न सधैँ तयार रहेको उनीहरूले प्रतिबद्धता जनाए । लुम्बिनी प्रादेशिक अस्पतालले पछिल्लो समय गरेका सुधार तथा सेवाबाट आफूहरू प्रभावित भएको दातृ संस्थाका प्रतिनिधिहरूले बताएका छन । प्रादेशिक अस्पताल न्यूनतम सेवा मूल्याङ्कन मापदण्डमा ८८ प्रतिशत अङ्क ल्याएर नेपालकै उत्कृष्ट बन्न सफल भएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0