कर्णाली । पछिल्लो समयमा नेपाली समाजमा मानसिक रोगप्रति संवेदनशील नहुँदा यो विकराल समस्याका रुपमा देखिन थालेको सरोकारवालाहरुले बताएका छन् ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा सिएमसी नेपालको समन्वय तथा सहकार्यमा आज वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजनाको निर्माण प्रक्रिया र कार्यान्वयको अवस्था विषयक छलफलमा सहभागी सरोकारवालाहरुले मानिसक रोगले समाज भित्रभित्रै प्रभावित भएको बताएका हुन् ।
गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुशीला सिम्खडाले मानव स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै समृद्ध समाज निर्माणका लागि मानसिकरुपमा स्वस्थ नागरिक हुनुपर्ने बताईन । “खानपिन, वैदेशिक रोजगार र हाम्रो जीवनशैलीका कारण अहिले मानसिक रोग बढ्दै गएको छ,” उनले भनिन्, “यसको रोकथाम तथा नियन्त्रणमा सबै तहका सरकारले आवश्यक नीति तथा रणनैतिक कार्ययोजना बनाएर अगाडि बढ्नुपर्दछ ।”
त्यसैगरी, लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजु खनालले पछिल्लो समय समाजमा मानसिक रोग र दुर्घटनाबाट धेरै मानिसको मृत्यु भएको बताए । उनले भने, “अहिले मानिसहरु नसर्ने रोगको जोखिममा छन् । यस क्षेत्रमा विशेषज्ञ जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिन जरुरी छ ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले ‘डिप्रेसन’का कारण आत्महत्या बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न राज्य गम्भीर हुनुपर्ने बताए ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव डा भोजराज शर्मा काफ्लेले एसियामै स्वास्थ्यमा सबैभन्दा बलियो सञ्जाल भएको देश नेपाल भएको दाबी गर्दै व्यवस्थापनमा सबल पक्ष भनेकै संवेदनशीलता हो भन्नुभयो ।
मधेस प्रदेशका स्वास्थ्य सचिव डा प्रमोदकुमार यादवले ६३ लाख जनसङ्ख्या भएको मधेसका लागि तीनजना मानसिक रोग विशेषज्ञ जनशक्ति रहेका जनाए ।
लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा जनार्दन पन्थीले मनोपरामर्शदाताबाट समयसमयमा सुझाव लिनुपर्ने बताए । कर्णाली प्रदेश अस्पतालका मानसिक रोग विशेषज्ञ डा सुशील समदर्शीले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई थप सहयोग पुग्नेगरी कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति र कार्ययोजना तयार गरेको बताए ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1