
ढोरपाटन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कुनै पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताएका छन ।
बागलुङको पञ्चकोटमा आयोजित अनन्त श्री ब्राह्माण्डीय महायज्ञका अवसरमा आयोजित पूर्वीय चिकित्सा शिक्षा पद्धति र जनस्वास्थ्य विकास सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले दूरदराजमा स्वास्थ्य सेवाको पहुँच पुर्याउँदै गएको बताए ।
पछिल्लो समय धेरै नागरिकमा मिर्गौला फेल हुने समस्या देखिएको भन्दै यसबाट बच्नका लागि जीवनशैली बदल्नुपर्नेमा उनले जोड दिए । उनले डायलायसिस गराइरहनुभन्दा जतिसक्दो चाँडो मिर्गौला प्रत्यारोपण गराउने राम्रो विकल्प भएको बताउँदै प्रत्यारोपण गरेपछि सरल तरिकाको जीवन जिउन सकिने बताए ।
“अब पैसा नभएर उपचार नपाएर कसैले पनि अकालमा ज्यान गुमाउनुपर्ने छैन, सरकारले सबै क्षेत्रमा स्वास्थ्य सुधार गर्नतर्फ लागेको छ, अब सामान्य उपचारका लागि एक दिन खर्चनुपर्ने बाध्यता हट्दै गएको छ, घर नजिकैसम्म स्वास्थ्य संस्थाहरू सञ्चालनमा आइरहेका छन्, सोहीअनुसार जनशक्ति पनि व्यवस्थापन गर्दैछौँ”, मन्त्री बस्नेतले भन्ने, “तल्लो तहका सरकारसँग सहकार्य गरेर पहिलेका अञ्चल अस्पताल सुधार गर्दै गइरहेका छौँ, हरेक निजी अस्पतालमा गरिब तथा विपन्न वर्गलाई १० प्रतिशत छुट गर्ने व्यवस्था हुन थालेको छ ।”
आम नागरिकले पनि जीवनशैली परिवर्तन गर्नुपर्नेमा उनको जोड थियो । पछिल्लो समय स्वास्थ्यमा ध्यान नदिँदा प्राणघातक रोगको सिकार बन्नुपरेको भन्दै उनले जीवनशैली बदल्नुपर्ने, शारीरिक व्यायामलाई निरन्तरता दिनुपर्ने भनाइ थियो । सरकारले आयुर्वेद क्षेत्रको विकास गर्न थालेको भन्दै गण्डकी प्रदेश आयुर्वेद औषधिका लागि उर्वर क्षेत्र रहेको उनको भनाइ थियो ।