लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालमा डेढ वर्षदेखि थन्काइएका मुटुसँग सम्बन्धित उपकरणको बल्ल सदुपयोग भएको छ । अस्पतालको कोठामा थन्किएका करोडौँ मूल्यका ‘क्याथ ल्याब मेसिन’बाट बिरामीको उपचार सुरुआत गरिएको छ ।

‘क्याथ ल्याब मेसिन’ सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनसँगै सेवा सुरु गरिएको मेडिकल सुपरिटेन्टेन्ट डा सुदर्शन थापाले जानकारी दिए । अस्पतालका अस्पतालमा मुटु रोगका बिरामीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा दिन क्याथ ल्याब सेवा सुरु गरिएको उनले जानकारी दिए ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा अर्जुन बुढाथोकीसहितको विशेषज्ञ टोलीले अब प्रादेशिक अस्पतालमै मुटुको उपचार गर्नेछन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा बुढाथोकीको नेतृत्वमा बिरामीको एनजीओग्राम गरेर सेवा सुरु गरिएको र अबदेखि एन्जिओग्राम र एन्जियोप्लास्टिकका उपचार सेवा यहीँबाट गरिने मेसु डा थापाले जानकारी दिए । एन्जिओग्राम (मुटुको धमनीमा कति ब्लकेज छ भनेर हेर्ने जाँच) सेवा सुरु भएको थप सेवा विस्तार हुँदै जाने उनले बताए । डा बुढाथोकीको नेतृत्वमा डा रोशन घिमिरेसहितको टोलीले अस्पतालमा मुटुका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् । अब मुटुसम्बन्धी समस्याका बिरामीको रोगको छिटो पहिचान गरी उपचार सेवा प्रदान गर्न सकिने उनको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले क्याथ ल्याब सञ्चालनका लागि रु २२ करोड विनियोज गरेको छ । सेवा सञ्चालनका लागि लुम्बिनी प्रदेशको पहिलो सरकारकै पालामा पहल भएको र हाल आएर सेवा सञ्चालनमा आएको हो ।

कार्डियोलोजी विभागका जनस्वास्थ्य निरीक्षक रामप्रसाद अर्यालका अनुसार अस्पतालमा सिमेन आरसीटी एस मेसिन रहेको यसले मुटुसम्बधी उपचार गर्न सकिनेछ । क्याथल्याबमा दुईजना चिकित्सक, दुई स्टाफ नर्स, एकजना एनेस्थेसिया र एक हेल्पर गरी जम्मा आठजनाले सेवा दिइने उनले बताए ।

मुटुसम्बन्धी समस्या भएर केही दिनअघि अस्पतालमा आएका दुईजना बिरामीको उपचार गर्दै सेवा सुरु भएको मेसु डाक्टर थापाले बताए । उपचारपछि दुवै बिरामीको अवस्था सामान्य भएको छ । लुम्बिनी प्रदेश अस्पतालले प्रदेशकै विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा बहिरङ्ग (ओपीडी)मा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0