क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बागलुङको बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसीलाई कालोमोसो दलेको छ ।
उनी मोटरसाइकलमा गन्तव्यतर्फ गइरहेका बेला रोकेर कालोमोसो दलिएको हो। कालोमोसो दलिएपछि विज्ञप्ति जारी गर्दै उक्त पार्टीले म्याद गुज्रेको औषधि खुवाएर आमजनको स्वास्थ्यमाथि खेलबाड गरेको जनाएको छ। जिल्ला इन्चार्ज अजनवी र संयोजक प्रविणद्वारा जारी पत्रमा भनिएको छ –‘बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखको मिलेमतोमा म्याद सकिएको औषधि खरिद गरी कमिशनको खेलमा विद्यार्थीको स्वास्थ्यमा खेलवाड गरेकोले कारबाही गरिएको हो ।’
म्याद सकिएको औषधि वितरण गरी खुवाई सकेपछि जनताको विरोध रहँदा रहँदै पनि गाउँपालिका अध्यक्ष र कर्मचारीको सेटिङमा आर्थिक दुरुपयोग गरी जनताप्रति उत्तरदायी नभएको भन्दै कारबाही गरिएको सो पार्टीले जनाएको छ ।
गाउँपालिकाले भने आइरन फोलिक एसिड खुवाउने कार्यक्रम नरहेको जनाउँदै उक्त औषधिबारे अनविज्ञता प्रकट गरेको छ।