बागलुङमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ । बागलुङमा क्षयरोगको सङ्क्रमणलाई शुन्यमा झार्ने लक्ष्य राखेको स्वास्थ्य कार्यालयलाई एउटै पालिकामा एक सय ११ क्षयरोगी भेटिएपछि चुनौती थपिएको छ ।
स्वास्थ्य कार्यालयले जिल्लाको बडिगाड गाउँपालिकामा सो सङ्ख्यामा क्षयरोगी फेला परेपछि उनीहरुको उपचार गर्न थालिएको जनाएको छ । कार्यालयका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले क्षयरोग निर्मूल पार्ने अभियानमा क्षयरोगको सम्भावना रहेको बडिगाडमा स्वास्थ्य शिविर गर्दा सो सङ्ख्यामा क्षयरोग देखिएको जनाउँदै उनीहरुलाई स्वास्थ्य कार्यालयको सम्पर्कमा राखेर उपचार थालिएको बताए ।
“कार्यालयले क्षयरोग शुन्यमा पार्ने अभियानअन्तर्गत खोजपड्ताल गरिरहेको थियो, जसमध्ये बडिगाडमा क्षयरोगी भेटिएपछि उपचारतर्फ लागेका छौँ”, घिमिरेले भन्ने, “दुई हप्ताअघि गरेको शिविरमा ९८ जना फेला परेपछि हालसम्म धेरै स्थानमा गरेको परीक्षण र प्राप्त रिपोर्टका आधारमा बडिगाडभित्रै एक सय ११ जना क्षयरोगी भेटिएका छन्, उनीहरुमध्ये २६ जनामा सार्ने प्रकारको क्षयरोग भेटिएको हो ।”
उनका अनुसार लामो समयदेखि बडिगाडमा क्षयरोगी बढी भएको अनुमान गर्दै शिविर सञ्चालन गरिएको थियो । स्वास्थ्य कार्यालयले गरिरहेको परीक्षणमा पनि यहाँ १८ जना क्षयरोगका बिरामी भेटिएका थिए । त्यसपछि बडिगाड गाउँपालिकाको पहल तथा जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्थाको प्राविधिक सहयोगमा गरिएको क्षयरोग शिविरमा बढी क्षयरोगी भेटिएका हुन् ।
   पालिकामा यति धेरै क्षयरोगी भेटिनु तत्कालका लागि राम्रो नभए पनि उक्त रोग अरुलाई सर्न नदिन रोग पहिचान गर्नु सकारात्मक रहेको बताए । पछिल्लो समय क्षयरोगीको सङ्ख्या बढ्दै गएपछि धौलागिरि अस्पतालमै क्षयरोग परीक्षण, उपचार र उपचारको प्रभावकारिता थाहा पाउने ‘एक्स्पट एक्सडिआर’ मेसिनसमेत जडान गरिएको छ । उक्त उपकरणले क्षयरोग पत्ता लगाउने र उपचारको प्रभावकारितासमेत पत्ता लगाउने छ ।
उक्त उपकरण नहुँदा दोस्रो चरणको क्षयरोग परीक्षण गर्न राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर जानुपर्ने हुन्थ्यो । मेसिन जडानपछि धौलागिरि अस्पतालमा शङ्कास्पद बिरामीको नियमित परीक्षण भइरहेको छ । बागलुङमा यसअघि दुई सय ३५ क्षयरोगीले नियमित औषधि खाइरहेकामा बडिगाडका  १११ थपिँदा  ३४६ पुगेको स्वास्थ्य कार्यालयको तथ्याङ्ले देखाएको छ । क्षयरोगीको पहिचान गर्नका लागि रोग पत्ता लगाउने उपकरण बागलुङको पश्चिम क्षेत्र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा समेत जडान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0