बाँकेको राप्तीसोनारी गाउँपालिका –६ सिधनवामा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ३ सय ७ सय जना नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।

शनिबार स्थानीय सिद्धेश्वर माध्यमिक विद्यालयको परिसरमा सञ्चालन गरिएको सो शिविरबाट वडा ६ र ७ अन्तर्गतका १९ वटा गाउँका तीनसय ७ जना सर्वसाधारणलाई निःशुल्क रुपमा स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको वडा ६ का अध्यक्ष लबराज खरेलले जानकारी दिए ।

उनका अनुसार ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजना तथा नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाको सहकार्यमा सम्पन्न सो शिविरमा ४६ जना पुरुष र एकसय ११ जना महिलासहित एक सय ५७ जनाले जनरलतर्फ स्वास्थ्य परीक्षण गराए ।

उक्त शिविरमा राप्तीसोनारी गाउँपालिका वडा ६ र ७ को लालपुर, जोरइया, हापुरा, मोहनपुर, सर्री, छटकपुर, कमईडाँडा, निबुवाटार, पनेरिया, बिशम्भरपुर, छपरतल्ली, पदनहा, हबरहवा, बमलहवा, सिधनवा, ढलैइया, गुलरी, भलगडिया, टेपरीलगायतका बासिन्दाले सेवा लिए ।

नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाको १२ औं वार्षिकोत्सव पारेर आयोजना गरिएको सो शिविर कार्यक्रममा वडाअध्यक्ष खरेलले वडा ६ र ७ अन्तर्गतका ग्रामीण समुदायका बिरामीहरुले निःशुल्क स्वास्थ्य परीक्षण र औषधी उपलब्ध गराएकोमा आयोजक संस्थाप्रति आभार व्यक्त गर्दै हरेक वर्ष एक पटक शिविर सञ्चालन गर्न आग्रह गरे ।

शिविरमा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका डा. हर्षित पाठक, डा. आशिष न्यौपाने र नेत्ररोग विशेषज्ञ जीतेन्द्रकुमार वर्मासहित स्टाफ नर्सहरु दिपा थापा र सञ्जु लामाको टोलीले स्वास्थ्य परीक्षण गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारी उपशाखाका अध्यक्ष तथा सहकारी संस्थाका व्यवस्थापक दिव्या गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0