कोशी प्रदेशमा जलन अस्पताल निर्माण प्रक्रिया बुधबारबाट सुरु भएको छ । कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रस्टबीच आगलागीमा घाइते भएका लगायतका बिरामीहरूको उपचारका लागि एक सय शय्याको उक्त अस्पताल निर्माण गर्न सम्झौता भएको हो ।

बुधबार मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा र ट्रस्टका कार्यकारी निर्देशक डा. गौरी प्रधानले उक्त अस्पताल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त अस्पताल  ४० करोड लागतमा निर्माण हुने बताइएको छ । अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन ट्रस्टले गर्ने बताइएको छ ।

इटहरी उपमहानगर ११ पकलीस्थित भवानीपुरमा ७ वर्ष अगाडि खरिद गरेको २ बिघा १० कट्ठा जग्गामा ५० शय्या जलन र ५० शय्या सामान्य गरी १ सय शय्याको जलन अस्पताल निर्माण हुने छ ।

मुख्यमन्त्री कार्की नेतृत्वमा सरकार गठन भए लगत्तै उनले आफ्नै पहलमा जलन अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेर प्रक्रिया सुरु गरेका हुन् ।

प्रदेश सरकारले ट्रस्टसँग सम्झौता गरेर तीन महिनाभित्र उक्त अस्पताल निर्माण सुरु गर्न १ करोड ५० लाख बजेट दिन सम्झौता गरेको छ ।

मुख्यमन्त्री कार्कीले कोशी र मधेस प्रदेशका आगलागीमा घाइते भएका बिरामीलाई लक्षित गरी इटहरीमा उक्त अस्पताल निर्माण प्रक्रिया सुरु गरेको बताए । ट्रस्टले कीर्तिपुर नगरपालिकासँगको सहकार्यमा कीर्तिपुर अस्पताल, काठमाडौँ मोडेल अस्पताल सञ्चालन गरेको र काठमाडौँ बाहिर सात वटै प्रदेशमा जलेको, पोलेको, ओठ तथा तालु फाटेको, बोलीको तालिमलगायतको सेवा प्रवाह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0