भरतपुर– जिल्ला कारागार कार्यालय चितवनमा रहेका १११ जना कैदीबन्दी बिरामी भएका पाइएको छ। उनीहरु विभिन्न रोगबाट पीडित छन्।
१११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन्। अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए। ‘कारागारमा बिरामी कैदीबन्दीको चाप बढ्दै गएको छ’, उनले भने।
कार्यालय प्रमुख आचार्यका अनुसार नवलपरासी, धादिङ, गोरखा, मकवानपुरलगायत जिल्लाबाट बिरामी कैदीबन्दी यहाँ उपचारका लागि ल्याउने गरिएको छ। अहिले कारागारमा मधुमेहका २६, थाइराइडका ३, मुटुरोगी ४, एचआइभी सङ्क्रमित ४, छारेरोगबाट पीडित ४, मानसिक रोगी ५, हेपाटाइटिसबाट पीडित ३ तथा अन्य रोगबाट पीडित कैदीबन्दी रहेका छन्।
जिल्लामा केन्द्रीयस्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल, २ ठूला मेडिकल कलेज र २४ भन्दा बढी निजी अस्पताल रहेका कारण कैदीबन्दीलाई उपचारका लागि यहाँ पठाउने गरिएको छ। अहिले कारागारमा क्षमताभन्दा झण्डै २०० बढी कैदीबन्दी राखिएको छ।
कारागारमा ४७५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको भए पनि ६७२ तथा ३० कैदीबन्दी राख्ने क्षमता भएकामा ४१ र ४ आश्रित बालबालिका गरी ७१७ कैदीबन्दी रहेका कार्यालय प्रमुख आचार्यले जानकारी दिए।