रामपुर (पाल्पा), १३ मङ्सिर । रामपुर नगरपालिकाभित्र रहेको स्तनपान कक्ष प्रभावकारी बनेको छ । यहाँका महिला कर्मचारी र सेवाग्राहीको सहजताका लागि कार्यालयभित्र स्तनपान कक्ष राखिएको छ । स्तनपान कक्षको सुविधा भएसँगै बच्चालाई कार्यालयमा नै ल्याएर स्तनपान गराउन धेरै सजिलो भएको पञ्जीकरण शाखाका फिल्ड सहायक सिम्पल रानाले बताए। “कार्यालयभित्र स्तनपान कक्षको व्यवस्था भएपछि बच्चालाई साथमा ल्याउने गरेको छु”, उनले भन्नुभयो, “काममा व्यस्त हुँदा स्तनपान कक्षमा सुताउन मिल्छ । बच्चालाई खेल्ने वातावरण मिलेको छ । समयसमयमा स्तनपान गराउन पाइएको छ ।”
सानो बच्चा घरमा छाडेर कार्यालयमा आउँदा मन शान्त नहुने भन्दै आफैँसँग हुँदा मन ढुक्क हुने रानाको भनाइ थियो । स्तनपान कक्षको सुविधा भएपछि उहाँले चौध महिनाको छोरी कार्यालयमा नै लिएर आउने गरेको बताए । यहाँ चार वर्षदखि उहाँ कार्यरत छिन् ।
खुल्ला ठाउँमा बसेर बच्चालाई स्तनपान गराउन आमालाई निकै समस्या हुने, बच्चाले दूध खान नमान्ने, कार्यालयको काममा नियमित खटिरहनुपर्दा सेवाग्राहीको अगाडि बसेर स्तनपान गराउन अप्ठ्यारो हुनेलगायत समस्या रहेकामा स्तनपान कक्ष स्थापना भएपछि आमा र बच्चा दुवैलाई प्रभावकारी भएको महिला तथा बालबालिका शाखा प्रमुख पूजा परियारले बताए । “स्तनपान कक्षको सुविधा भएपछि काखको बच्चा कार्यालयमै लिएर आउने गरिएको छ”, उनले भने “कार्यालयभित्र सुविधा सम्पन्न कक्ष रहेकाले बच्चालाई सुताउन, भुलाउन, खेलाउन सजिलो भएको छ ।”
यहाँ सञ्चालित स्तनपान कक्ष महिला कर्मचारी तथा सेवाग्राही महिलाले उपयोग गर्न पाउँदा सन्तुष्ट छन् । कर्मचारी तथा सेवाग्राहीको सहजताका लागि पालिकाको पहिलो तलास्थित महिला तथा बालबालिका शाखा कार्यालयभित्र व्यवस्थित रुपमा कक्ष निर्माण गरी प्रयोगमा ल्याइएको नगर उपप्रमुख बालकुमारी थापा बताए।