लायन्स क्लब नेपाल इन्टरनेसनल ३२५ एलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापना गर्ने भएको छ ।

जिल्लामा दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर रहेको र मिर्गौला पीडितलाई सास्ती भइरहेकाले क्लवले अस्पतालमा डायलासिस सेन्टर स्थापनाको प्रक्रिया अगाडी बढाएको हो । लायन्सका गभर्नर परमेश्वर बराल, चिफ अफ एओजी अमृत बराल, कोचिफ एडभाइजर बाबुराम अधिकारीलगायतको बैठकले केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि छलफल गरेको जनाइएको छ ।

मिर्गौला पीडित बिरामीको लागि आवश्यक उपचार गर्न अस्पतालमा छ थान मेसिन राख्ने तयारी गरिएको क्लवका डिष्ट्रिक क्याबिनेट सेक्रेटरी सुजित हिराचनले जानकारी दिए । उनले भने, “यो भेगमा डायलासिस सेवा अति आवश्यक भइसकेको छ । यहाँका बिरामीलाई दमौली, पोखरा जानुपर्ने बाध्यता छ । यही डायलासिस सेन्टर स्थापना गर्न सकिए उहाँहरुलाई सहज हुन्छ ।”

हाल सदरमुकामस्थित दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर छ । यहाँ ११ वटा उपकरणमार्फत बिरामीले सेवा लिँदै आएका छन् । केन्द्रमा हाल डायलासिस सेवा लिने कूल सङ्ख्या ५० भन्दा बढी छन् । तनहुँका विभिन्न ठाउँका मिर्गौला पीडितले मिर्गौला उपचार केन्द्रमा डायलासिसका लागि नाम टिपाएर पालो पर्खिरहेका छन् ।

विसं २०७२ मङ्सिर ३ गते अस्पतालमा डायलासिस युनिट सञ्चालनमा आएको थियो । उक्त युनिट गत वर्षको कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको छ । युनिटमा हालसम्म दुई सय २८ ले डायलासिस सेवा लिएका छन् । केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौला पीडितले पनि डायलासिस सेवा लिइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0