काठमाडौं । सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक (आज) १७ र (भोलि) १८ गते सञ्चालन गर्ने भएको छ । प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, यस वर्ष दशैं परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।

६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने महाशाखा प्रमुख डा. विवेक कर्ण लालले बताए । डा.लालले  दुई दिने अभियान देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मीलाई परिचालन गरिने जानकारी दिए ।

उनका अनुसार १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ । बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।२०५६ बाट जुकाको औषधि भने खुवाउन थालिएको हो । स्वास्थ्य मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन सातवटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0